• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

न्यायपालिकामाथि अविश्वासको सङ्कट : राजनीतिक हस्तक्षेपदेखि बिचौलियाको प्रभावसम्म

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
न्यायपालिकामाथि अविश्वासको सङ्कट : राजनीतिक हस्तक्षेपदेखि बिचौलियाको प्रभावसम्म
0
SHARES
0
VIEWS

काठमाडौँ । नागरिकको न्यायप्रतिको अन्तिम भरोसा मानिने न्यायपालिका पछिल्लो समय निरन्तर विवादमा पर्दै आएको छ । संविधानको संरक्षण र विधिको शासन कायम गर्ने जिम्मेवारी बोकेको सर्वोच्च अदालतकै नेतृत्व तथा न्यायाधीशहरू विवादमा जोडिन थालेपछि न्यायिक निष्पक्षता, पारदर्शिता र संस्थागत विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ ।

पछिल्लो समय सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएको भनिएको ‘इनम सापकोटा प्रकरण’ले यो बहसलाई थप चर्काएको छ । बिचौलिया भनिएका व्यक्तिसँग भएको दाबी गरिएको ह्वाट्सएप संवाद, होटल हिमालयमा न्यायाधीशहरूको सामूहिक भेट र आर्थिक कारोबारसम्बन्धी विवरण सार्वजनिक चर्चामा आएपछि न्यायालयमाथिको संशय बढेको हो ।

यी विषयमा उठेका प्रश्न र दाबीहरूको निष्पक्ष छानबिन हुनुपर्ने आवाज कानुन व्यवसायीहरूले उठाएका छन् । उनीहरूका अनुसार न्यायपालिकाको गरिमा र नागरिकको विश्वास कायम राख्न विवादमा जोडिएका विषयलाई सामान्य वक्तव्य वा आन्तरिक स्पष्टीकरणमा सीमित राख्नु पर्याप्त हुँदैन ।

न्यायाधीशको आचारसंहिताले मुद्दाका पक्ष, बिचौलिया वा शङ्कास्पद व्यक्तिसँग अनुचित व्यक्तिगत सम्पर्क र भेटघाटलाई निषेध गरेको छ । तर, इनम सापकोटासँग ह्वाट्सएपमा संवाद भएको र भेटघाट गरेको विषय न्यायाधीश फुयाँलले स्वीकार गरेको विवरण सार्वजनिक भएपछि न्यायिक आचरणबारे प्रश्न उठेको छ ।

त्यस्तै, आफूलाई ‘महाअभियोगबाट जोगाइदिन सक्ने’ वा ‘प्रधानमन्त्रीको प्रतिनिधि’ भन्दै परिचय दिएको व्यक्तिको दाबीका आधारमा सात जना न्यायाधीश होटलमा छलफलका लागि पुगेको भनिएको घटनाले पनि थप जिज्ञासा पैदा गरेको छ । प्रधानन्यायाधीश शर्मा तथा अन्य उच्चपदस्थ व्यक्तिहरूको नाम जोडिएका बैंकिङ विवरणबारे सार्वजनिक भएका दाबीले न्यायालयभित्र बिचौलियाको पहुँचसम्बन्धी बहसलाई थप बल पुर्‍याएको छ ।

कानुन व्यवसायीहरूका अनुसार यस्ता घटनाले सर्वसाधारणमा न्याय पाउन निष्पक्षता र कानुनी आधारभन्दा पहुँच तथा आर्थिक प्रभाव निर्णायक हुने हो कि भन्ने आशङ्का जन्माउन सक्छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी न्यायालयको प्रतिष्ठा जोगाउन विवादमा परेका न्यायाधीशमाथि निष्पक्ष छानबिन आवश्यक रहेको बताउँछन् । उनका अनुसार प्रश्न उठेका न्यायाधीशले छानबिन प्रक्रिया टुङ्गो नलागेसम्म इजलासबाट अलग रहनु उपयुक्त हुन्छ ।

भण्डारीले यो विषयलाई सामान्य वक्तव्य जारी गरेर आफू संलग्न नरहेको बताउने तहमा सीमित गर्न नहुने धारणा राखेका छन् । उनका अनुसार प्रधानन्यायाधीश र न्यायाधीश फुयाँलमाथि उठेका प्रश्न व्यक्तिगत विषय मात्र नभई समग्र न्यायपालिकाको विश्वसनीयतासँग जोडिएका छन् ।

न्यायाधीशहरूले नैतिक जिम्मेवारी लिँदै इजलासबाट अलग हुने, सम्बन्धित संवैधानिक निकायले निष्पक्ष अनुसन्धान गर्ने र न्यायिक प्रणालीमा आवश्यक सुधार अघि बढाउने काम हुनुपर्ने भण्डारीको सुझाव छ ।

त्यस्तै, अधिवक्ता अनन्तराज लुईंटेलले सार्वजनिक रूपमा उठेका प्रश्नले दुई न्यायाधीशलाई मात्र नभई सिंगो न्यायपालिकालाई प्रभावित पारेको बताएका छन् । घटनाको सत्यतथ्य पत्ता लगाउन ढिलाइ नगरी उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने उनको माग छ ।

लुईंटेलका अनुसार छानबिनको दायरामा आएका न्यायाधीशले अनुसन्धान अवधिभर इजलासमा नबस्ने व्यवस्था गर्नुपर्छ । उनले आवश्यकताअनुसार संसदीय छानबिनको विकल्पसमेत खुला राख्नुपर्ने बताए । यद्यपि, संसदीय प्रक्रियामा जानुअघि न्यायपालिकाभित्रैबाट विश्वसनीय र निष्पक्ष अनुसन्धान सुरु हुनुपर्ने उनको धारणा छ ।

उनका अनुसार न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न उठेका गम्भीर प्रश्नको जवाफ खोजिनुपर्छ । छानबिन नगरी विषयलाई बेवास्ता गर्दा न्यायिक संस्थाप्रतिको भरोसा थप कमजोर हुन सक्ने उनले बताए ।

नैतिक जिम्मेवारी र संस्थागत सुधारको आवश्यकता

भण्डारी र लुईंटेलले औँल्याएका विषयले न्यायालयको विश्वसनीयता कायम राख्न आरोपित न्यायाधीशको भूमिकाबारे स्पष्टता आवश्यक रहेको देखाउँछ । छानबिन निष्पक्ष बनाउन विवादमा जोडिएका न्यायाधीशले अनुसन्धान अवधिमा इजलासबाट अलग रहने विषय पनि बहसमा आएको छ ।

तर, समस्या कुनै एक वा दुई न्यायाधीशमा मात्र सीमित नरहेको कानुन व्यवसायीहरूको तर्क छ । न्यायपालिकाभित्र देखिएका संरचनागत कमजोरी हटाउन न्यायपरिषद्को गठन, कार्यशैली र नियुक्ति प्रक्रियामै सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ ।

न्यायाधीश नियुक्तिमा राजनीतिक दल र कार्यपालिकाको प्रभाव घटाउन न्यायपरिषद्सम्बन्धी कानुनी तथा संस्थागत व्यवस्था पुनरावलोकन गर्नुपर्ने माग हुँदै आएको छ । नियुक्तिका लागि स्पष्ट योग्यता र मापदण्ड निर्धारण, पारदर्शी छनोट प्रक्रिया तथा सार्वजनिक सुनुवाइलाई प्रभावकारी बनाउनुपर्ने सुझाव पनि अघि सारिएका छन् ।

त्यसैगरी अदालतमा बिचौलियाको प्रभाव कम गर्न न्यायिक प्रक्रिया डिजिटल बनाउने, फैसलाको नियमित परीक्षण गर्ने र आचारसंहिता उल्लङ्घन गर्ने न्यायाधीशमाथि प्रभावकारी कारबाही गर्ने संयन्त्र विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

दुई दशकदेखि दोहोरिँदै आएका विवाद

न्यायपालिकाको विश्वसनीयतामाथि प्रश्न उठेको यो पहिलो घटना होइन । पछिल्ला दुई दशकमा प्रधानन्यायाधीशहरूको नियुक्ति, राजनीतिक हस्तक्षेप, महाअभियोग र न्यायिक विचलनसम्बन्धी विभिन्न घटनाले न्यायालयलाई पटक–पटक विवादमा तानेका छन् ।

२०७४ सालमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी सरकारको निर्णय उल्ट्याएपछि उनीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । त्यसलाई कार्यपालिकाको निर्णयमाथि न्यायिक हस्तक्षेपको प्रतिक्रियाका रूपमा व्याख्या गर्दै राजनीतिक प्रतिशोध भएको आरोपसमेत लागेको थियो ।

कार्कीविरुद्धको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । अदालतले संसद्मा दर्ता भएको प्रस्ताव अघि बढाउने प्रक्रिया रोक्ने आदेश दिएपछि कार्की पुनः सर्वोच्च अदालतमा उपस्थित भएकी थिइन् । उक्त घटनाले न्यायपालिका र कार्यपालिकाबीचको सम्बन्ध तथा न्यायिक स्वतन्त्रताबारे व्यापक बहस सिर्जना गरेको थियो ।

त्यसपछि २०७४ सालमै प्रधानन्यायाधीश बनेका गोपाल पराजुली पनि विवादबाट मुक्त रहन सकेनन् । उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित उमेरसम्बन्धी विवरणमाथि प्रश्न उठेपछि न्यायालयको नेतृत्व विवादमा तानियो । उमेर विवादका कारण इजलास सञ्चालनमै समस्या उत्पन्न भएको थियो । डा. गोविन्द केसीको अनशन र कानुनी प्रक्रियापछि न्यायपरिषद्को पत्रका आधारमा पराजुली पदबाट बाहिरिनुपरेको थियो । उक्त घटनाले सर्वोच्च अदालतको प्रतिष्ठामा असर पारेको भन्दै आलोचना भएको थियो ।

२०७८ सालमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैलीलाई लिएर नेपाल बार एसोसिएसनले लामो आन्दोलन गरेको थियो । मन्त्रिपरिषद् विस्तारमा भागबन्डा खोजेको, बिचौलियालाई संरक्षण दिएको र संवैधानिक इजलास गठनमा स्वेच्छाचारी व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो ।

बार एसोसिएसनले १०० दिनभन्दा लामो आन्दोलन गर्दा सर्वोच्च अदालतका न्यायाधीशहरूले समेत इजलास बहिष्कार गरेका थिए । त्यसपछि २०७८ फागुन १ गते जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्तापछि उनी निलम्बनमा परेका थिए ।

उनको महाअभियोग प्रक्रिया लामो समयसम्म निष्कर्षमा पुग्न नसक्दा अवकाशपछि पेन्सनपट्टासमेत बनाउन नपाएको विषय सार्वजनिक भएको थियो ।

पछिल्लो समय गत भदौ २४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराविरुद्ध दर्ता भएको महाअभियोगसम्बन्धी विषयमा औचित्य समाप्त भएको ठहर गर्दै त्यससँग सम्बन्धित चारवटा रिट खारेज गर्ने फैसला सुनाएको थियो ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नेतृत्वमा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारंगा सुवेदी सहभागी थिए । उक्त इजलासले अधिवक्ताहरू त्रिलोकबहादुर चन्द, पुण्यप्रसाद खतिवडा, पूर्णमान शाक्य र कीर्तिनाथ शर्माले दायर गरेका रिट खारेज गर्ने निर्णय गरेको थियो ।

संसद् सचिवालयका तत्कालीन महासचिवले दिएको सफाइ पत्रविरुद्ध परेको रिटसमेत खारेज भएपछि जबराविरुद्धको महाअभियोगसम्बन्धी कानुनी विवादले नयाँ मोड लिएको थियो । यद्यपि, उक्त फैसलाको पूर्णपाठ सार्वजनिक भइसकेको छैन ।

हरिकृष्ण कार्की कार्यदलको प्रतिवेदनले देखाएका समस्या

न्यायालयभित्रका विकृति र बिचौलियाको प्रभावबारे अध्ययन गर्न सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित कार्यदलले २०७८ सालमा प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनले न्यायाधीश, कानुन व्यवसायी, अदालतका कर्मचारी र बिचौलियाबीचको मिलेमतोबाट न्यायिक विचलन तथा अनियमितता हुन सक्ने अवस्था औँल्याएको थियो । अदालतमा गोलाप्रथा प्रणाली लागू गर्नेलगायतका सुझाव दिइए पनि बिचौलियाको प्रभाव पूर्ण रूपमा नियन्त्रण हुन नसकेको विषय अहिले पनि बहसमा छ ।

प्रतिवेदनको पाँचौँ परिच्छेदमा न्यायपालिकाभित्रका विकृति, विसङ्गति, अनियमितता, भ्रष्टाचार र बिचौलियाको अवस्थाबारे विस्तृत विश्लेषण गरिएको छ । न्यायाधीशको नियुक्ति, सरुवा, काज र कारबाहीमा देखिएका कमजोरीलाई पनि प्रतिवेदनले समेटेको छ ।

त्यसैगरी भ्रष्टाचारमा बिचौलियाको भूमिका, मुद्दाको सुनुवाइमा हुने ढिलाइ, न्यायिक अनियमितता, सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजनमा देखिने कमजोरी र फैसला कार्यान्वयनका समस्याबारे प्रतिवेदनमा उल्लेख गरिएको छ । अदालतका कर्मचारी तथा कानुन व्यवसायीको व्यवस्थापनमा सुधार गर्नुपर्ने विषय पनि त्यसमा समेटिएको थियो ।

न्यायालयमा राजनीतिक प्रभाव किन बढ्यो ?

२०६२/०६३ को राजनीतिक परिवर्तनपछि न्यायपरिषद्को संरचना र संसदीय सुनुवाइको अभ्यासलाई लिएर पनि प्रश्न उठ्दै आएका छन् । न्यायाधीश नियुक्तिमा योग्यता, क्षमता, अनुभव र व्यावसायिक निष्ठाभन्दा राजनीतिक निकटता तथा दलगत भागबन्डाले प्राथमिकता पाउने गरेको आरोप लाग्ने गरेको छ ।

राजनीतिक सहमतिका आधारमा नियुक्ति हुने प्रवृत्तिले न्यायिक स्वतन्त्रता कमजोर पार्न सक्ने कानुन व्यवसायीहरूको चिन्ता छ । नियुक्तिपछि पनि राजनीतिक प्रभाव कायम रहने अवस्था बने न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठ्ने उनीहरूको तर्क छ ।

त्यस्तै न्यायाधीशमाथि भ्रष्टाचार वा आचारसंहिता उल्लङ्घनको आरोप लाग्दा न्यायपरिषद्ले प्रभावकारी र निष्पक्ष कारबाही गर्न नसकेको आलोचना पनि हुँदै आएको छ । महाअभियोगजस्तो संवैधानिक प्रक्रियालाई न्यायिक जवाफदेहिताको माध्यम बनाउनुपर्नेमा राजनीतिक स्वार्थ र शक्ति सन्तुलनको औजारका रूपमा प्रयोग गर्ने प्रवृत्तिले समस्या थप जटिल बनाएको टिप्पणी हुने गरेको छ ।

अदालतमा मुद्दाको सुनुवाइ र फैसला प्रक्रियामा हुने ढिलाइ, पटक–पटक तारिख धाउनुपर्ने बाध्यता तथा प्रशासनिक पारदर्शिताको अभावले सेवाग्राही र न्यायिक प्रक्रियाबीच बिचौलियाका लागि ठाउँ सिर्जना गरेको आरोप छ ।

मुद्दाको सुनुवाइ प्रभावित पार्ने, इजलास व्यवस्थापनमा हस्तक्षेप गर्ने र फैसला आफ्नो पक्षमा पार्ने उद्देश्यले सक्रिय हुने बिचौलियाको सञ्जालबारे हरिकृष्ण कार्की कार्यदलको प्रतिवेदनले पनि प्रश्न उठाएको थियो ।

न्यायपालिकाभित्र देखिएका यस्ता समस्या समाधानका लागि राजनीतिक हस्तक्षेप घटाउने, नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने, न्यायाधीशलाई जवाफदेही बनाउने र बिचौलियाको प्रभाव नियन्त्रण गर्ने संस्थागत सुधार आवश्यक देखिन्छ । पछिल्लो प्रकरणले फेरि एकपटक न्यायालयको विश्वसनीयता कायम राख्न निष्पक्ष छानबिन र दीर्घकालीन सुधारको बहसलाई केन्द्रमा ल्याएको छ ।

Previous Post

आन्तरिक राजस्व वृद्धि गर्न गण्डकीमा राजस्व व्यवस्थापन कार्यालय स्थापना

Next Post

बाढीपीडितका ५०० घर पुनर्स्थापना गर्ने लक्ष्यसहित अन्टुफको श्रमदान अभियान जारी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav