काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा आठवटा उजुरी दर्ता भएका छन् ।
समितिले कात्तिक ९ गते प्रस्तावित न्यायाधीशहरूका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गरेको थियो । शुक्रबारसम्म आठवटा उजुरी प्राप्त भएको समितिले जनाएको छ ।
उजुरी दर्ता गर्ने अन्तिम म्याद कात्तिक १९ गतेसम्म तोकिएकाले थप उजुरी आउन सक्ने समितिको अनुमान छ ।
गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । उनीहरूको नियुक्ति प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ हुन लागेको हो ।
