कांग्रेस सभापति गगन थापाले विगतका छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरी गोप्य राखिएको भन्दै सरकारको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएका छन्।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले सञ्चालन गर्ने अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न गरेका छन्। विगतमा विभिन्न घटनाको छानबिन गर्न गठित समितिका प्रतिवेदन सार्वजनिक नगरी थन्क्याइएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले घटना सार्वजनिक भएपछि छानबिन समिति गठन गर्ने तर अनुसन्धानको निष्कर्ष भने बाहिर नल्याउने प्रवृत्ति देखिएको बताए। यस्तो अभ्यासले छानबिन समिति गठनको औचित्यमाथि नै प्रश्न उठाएको उनको भनाइ थियो।
उनले विगतमा गठन गरिएका समितिका प्रतिवेदनबारे सरकारसँग जवाफ मागे। गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रश्न उठेपछि गठन गरिएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएको उल्लेख गर्दै उनले त्यसको अवस्था सोधे। त्यसैगरी, भदौ २४ को घटना र सुनसरीको कप्तानगञ्ज घटनाबारे गठित समितिका प्रतिवेदन पनि कहाँ पुगे भन्ने प्रश्न गरे।
सरकारले आफूलाई अनुकूल हुने विषयमा मात्रै प्रतिवेदन प्रयोग गर्ने र अन्य निष्कर्ष सार्वजनिक नगर्ने गरेको थापाको आरोप थियो। प्रतिवेदन लुकाएर राख्दा नागरिकलाई वास्तविकताबाट टाढा राखिएको उनले टिप्पणी गरे।
थापाले सरकारका कामकारबाहीमाथि नागरिकस्तरबाट निरन्तर निगरानी र खबरदारी हुनुपर्नेमा जोड दिए। राज्यका निकायलाई जवाफदेही बनाउन नागरिकले सचेततापूर्वक प्रश्न उठाउनुपर्ने उनको आग्रह थियो।