काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘काठमाडौं फिल्म फेस्टिभल’ले काठमाडौं उपत्यकाको कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।
चलचित्र महोत्सवको तेस्रो दिन आइतबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो विश्वास व्यक्त गरेकी हुन् । फिल्म महोत्सवले स्थानीय सिर्जनात्मक क्षेत्रको विकाससँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने उनले बताएकी छन् ।
महोत्सवमार्फत काठमाडौंका मौलिक कथा, कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरेकी छन् । जीवन्त र समृद्ध सहर निर्माणका लागि कला, संस्कृति तथा सम्पदाको संरक्षण र सिर्जनात्मक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ छ ।
डंगोलले सिर्जनात्मक क्षेत्रको विकासका लागि महानगरले विभिन्न प्रयास गर्दै आएको उल्लेख गर्दै फिल्म फेस्टिभललाई पनि त्यसैको निरन्तरताका रूपमा लिएको बताएकी छन् ।
उनले काठमाडौंका सबै नागरिक, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि फिल्म फेस्टिभल आयोजना गरिएको बताइन् । महोत्सवलाई सफल बनाउन महानगरले सक्दो मेहनत गरेको उल्लेख गर्दै यसको प्रभावकारिताको मूल्यांकन कलाकार तथा नागरिकले गर्ने उनको भनाइ छ ।
कुनै पनि सहर समृद्ध र जीवन्त बन्न त्यहाँको कला, संस्कृति र सम्पदा जीवन्त हुनुपर्नेमा जोड दिँदै उनले सिर्जनात्मक क्षेत्रको विकासका लागि महानगरले विभिन्न प्रयास गर्दै आएको बताइन् ।
फिल्म फेस्टिभलमार्फत सिर्जनात्मक क्षेत्रको अभिवृद्धिका लागि नयाँ सुरुवात गरिएको उल्लेख गर्दै यसले पर्यटन प्रवर्द्धनसँगै काठमाडौंका मौलिक कथालाई विश्वमाझ पुर्याउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरेकी छन् ।
स्थानीय कलाकार तथा पेसाकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पहुँच विकास गराउने उद्देश्यले फिल्म फेस्टिभल आयोजना गरिएको उनको भनाइ छ ।
