अरुण तेस्रोको निर्माण ७५.८१ प्रतिशत पूरा, माथिल्लो अरुण र दूधकोशी आयोजना विकासको चरणमा
विराटनगर । जलविद्युत् तथा सौर्य ऊर्जा उत्पादनमा उल्लेख्य वृद्धि गर्दै कोशी प्रदेश देशकै प्रमुख ऊर्जा केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म प्रदेशको कुल विद्युत् उत्पादन क्षमता ९९४ मेगावाट पुगेको छ ।
प्रतिवेदनअनुसार प्रदेशका विभिन्न जिल्लामा निर्माण सम्पन्न भएका ६४ जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमता ९७७.२ मेगावाट छ । यसबाहेक मोरङमा रहेको ६.८ मेगावाट क्षमताको ग्रिड कनेक्टेड सोलार आयोजना र झापाको झापा इनर्जी लिमिटेडबाट उत्पादित १० मेगावाट सौर्य विद्युत् जोड्दा कुल क्षमता ९९४ मेगावाट पुगेको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेशको विद्युत् उत्पादन क्षमता ७८६.७ मेगावाट थियो । समीक्षा अवधिमा सात नयाँ जलविद्युत् आयोजना सम्पन्न भएसँगै उत्पादन प्रणालीमा थप २०६.२ मेगावाट विद्युत् जोडिएको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लागत विवरणमा सोलुखुम्बु सबैभन्दा बढी विद्युत् उत्पादन गर्ने जिल्ला बनेको छ । त्यहाँका १० आयोजनाबाट ३४९.८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । इलामका १८ आयोजनाले २००.८ मेगावाट र संखुवासभाका १० आयोजनाले १३६.७ मेगावाट विद्युत् उत्पादन गरिरहेका छन् ।
त्यस्तै, ताप्लेजुङका नौ आयोजनाबाट ९८.५ मेगावाट, पाँचथरका चारबाट ७१.९ मेगावाट, ओखलढुङ्गाका पाँचबाट ६५.१ मेगावाट र भोजपुरका चार आयोजनाबाट ३१.९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । तेह्रथुमका दुई आयोजनाको क्षमता १२.३ मेगावाट र खोटाङका दुई आयोजनाको क्षमता १०.२ मेगावाट रहेको छ ।
प्रदेशको ऊर्जा क्षेत्रको विकासमा महत्त्वपूर्ण मानिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण पनि अघि बढिरहेको छ । एक खर्ब ८८ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनाको २०८३ असार मसान्तसम्म भौतिक प्रगति ७५.८१ प्रतिशत र वित्तीय प्रगति ६१.२८ प्रतिशत पुगेको छ ।
२०७५ वैशाखदेखि निर्माण सुरु भएको आयोजनालाई २०८५ पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा एक हजार ४४९ नेपाली र एक हजार १८० विदेशी गरी दुई हजार ६२९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
यसैबीच, १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र ६३५ मेगावाट क्षमताको दूधकोशी जलविद्युत् आयोजना पनि विकासको प्रक्रियामा छन् । यी ठूला आयोजना निर्माण सम्पन्न भए कोशी प्रदेशको ऊर्जा उत्पादन क्षमता थप विस्तार हुने र राष्ट्रिय विद्युत् निर्यातमा प्रदेशको भूमिका बढ्ने अपेक्षा गरिएको छ ।
उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न तथा अन्य बजारसम्म पुर्याउन प्रसारण पूर्वाधार निर्माणलाई समेत प्राथमिकता दिइएको छ । अरुण तेस्रो आयोजनाको विद्युत् प्रवाहका लागि ४०० केभी क्षमताको २१७ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । संखुवासभा, भोजपुर, खोटाङ र उदयपुर हुँदै मधेस प्रदेशसम्म पुग्ने उक्त प्रसारण लाइनको भौतिक प्रगति ५८.६५ प्रतिशत र वित्तीय प्रगति ५५.७३ प्रतिशत पुगेको छ ।
कोशी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार खण्डमा १०६ किलोमिटर लामो दोस्रो सर्किट निर्माणको काम पनि सुरु भएको छ । एक अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना सन् २०२८ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य छ । आयोजना पूरा भएपछि थप दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिने क्षमता विकास हुने प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, ताप्लेजुङको ढुङ्गेसाँघुस्थित १३२ केभी सबस्टेसनलाई २२० केभीमा स्तरोन्नति गरी ४०० एमभीए क्षमता थप गर्ने योजना मूल्याङ्कनको चरणमा पुगेको छ ।
औद्योगिक क्षेत्रलाई गुणस्तरीय विद्युत् उपलब्ध गराउने उद्देश्यसहित अघि बढाइएको २३ किलोमिटर लामो कुशाहा–विराटनगर १३२ केभी प्रसारण लाइनको भौतिक प्रगति ७९.२९ प्रतिशत र वित्तीय प्रगति ८०.१८ प्रतिशत पुगेको छ । उक्त आयोजना आर्थिक वर्ष २०८३/०८४ भित्र सम्पन्न गर्ने लक्ष्य छ ।
कोशी प्रदेशमा उत्पादित विद्युत् ढल्केबर–मुजफ्फरपुर र इनरुवा–पूर्णियाजस्ता अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत तथा बंगलादेशसम्म निर्यात गर्न सकिने सम्भावना पनि प्रतिवेदनले औँल्याएको छ । यसबाट मुलुकले उल्लेख्य आर्थिक लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
अरुण, तमोर र कन्काईजस्ता नदीमा वर्षभरि पर्याप्त पानीको बहाव रहने भएकाले कोशी प्रदेशमा बाह्रै महिना जलविद्युत् उत्पादनको सम्भावना उच्च रहेको प्रतिवेदनको निष्कर्ष छ ।
