काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको पहिरनलाई लिएर सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री पत्नीको पहिरनलाई पञ्चायतकालमा चर्चामा रहेको ‘पम्फादेवी’ प्रसंगसँग जोडेर टिप्पणी गरेका हुन् ।
थापाले फेसबुकमार्फत पञ्चायतको अन्तिमतिर ‘पम्फादेवी’ को पहिरन चर्चाको विषय बनेको स्मरण गर्दै अहिले प्रधानमन्त्री पत्नीको पहिरनमा पनि त्यस्तै प्रभाव देखिएको आशय व्यक्त गरेका छन् ।
प्रधानमन्त्री पत्नी काफ्ले हालै एक सार्वजनिक कार्यक्रममा रातो कार्पेटमा हिँडेको तस्बिर सामाजिक सञ्जालमा चर्चामा आएपछि थापाले उक्त तस्बिर साझा गर्दै नीलो सल र अन्य पहिरनबारे व्यंग्य गरेका हुन् ।
उनले प्रधानमन्त्री र प्रथम महिलाका लागि निश्चित पोसाक संहिता हुनुपर्ने आफ्नो मान्यता रहेको पनि उल्लेख गरेका छन् । यसअघि प्रधानमन्त्रीको पहिरन र जुत्तालाई समेत महेन्द्रकालीन शैलीको नक्कल भन्दै उनले टिप्पणी गरेका थिए ।
को हुन् पम्फादेवी ?
पञ्चायतकालीन राजनीतिक चर्चामा ‘पम्फादेवी’ नाम तत्कालीन रानी ऐश्वर्यसँग जोडिएर आउने गरेको थियो । दरबारको शक्ति, आर्थिक गतिविधि र सम्भावित अनियमितताबारे उठ्ने आरोप तथा चर्चामा यो नाम प्रयोग हुने गरेको थियो ।
विशेषगरी २०४६ सालको जनआन्दोलनताका ‘पम्फादेवी’ नामले राजनीतिक रूपमा चर्चा पाएको थियो । तत्कालीन दरबारको आर्थिक स्रोत र शक्तिको प्रयोगबारे विभिन्न आरोप सार्वजनिक हुँदा उक्त नाम जोडेर नाराबाजीसमेत हुने गरेको थियो ।
रानी ऐश्वर्यले स्विट्जरल्यान्डको बैंकमा ‘पम्फादेवी’ नामबाट ठूलो रकम राखेको भन्ने चर्चा पनि त्यसबेला फैलिएको थियो । यद्यपि, उक्त दाबी पुष्टि गर्ने ठोस सार्वजनिक प्रमाण उपलब्ध छैन ।
