सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको दलको बैठकमा सहभागी भएका महामन्त्री प्रदीप पौडेलले यस्तो निर्देशन दिएका हुन्।
पौडेलले अदालतमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा अहिले प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रकरणको सत्यतथ्य छानबिनका लागि आवाज उठाउन संसदीय दललाई निर्देशन दिए।
‘अदालतमा भइरहेको बिचौलिया प्रकरणको छानबिन गर्न संसदीय समिति माग गर्न दललाई पार्टीले निर्देशन दिएको छ,’ पौडेलले बताए, ‘पार्टीको तर्फबाट दलको बैठकमा मैले त्यस्तो निर्देशन दिएको हुँ।’
महामन्त्री पौडेलले मिडिया हाउसमा पुगेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिने, कर्मचारीलाई पक्राउ गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याउने र अदालतको बिचौलिया प्रकरणबारे छलफल गर्न तत्काल संघीय संसद्को अधिवेशन आह्वानको माग गर्न पनि दललाई निर्देशन दिएको जानकारी दिए।
आइतबार कांग्रेस सभापति गगन थापाले संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई पछिल्लो समय देखिएका घटनामा संसदीय छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए। सोहीअनुसार सोमबारको संसदीय दलको बैठकमा यस विषयले प्रवेश पाएको हो।
अहिले संघीय संसद्का दुवै सदन बन्द छन्। कांग्रेसले चाँडो प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बोलाएर यस्ता घटनाका विषयमा संसदीय छानबिन समिति गठन गर्न प्रस्ताव गर्ने भएको छ।
