काठमाडौं । नेपाली कांग्रेसले पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्नुपर्ने माग अघि सारेको छ । सरकारले पछिल्लो समय अपनाएको कार्यशैलीले प्रेस स्वतन्त्रता र कानुनी शासनको मर्ममाथि प्रश्न उठाएको कांग्रेसको ठहर छ ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पत्रकारमाथिको धरपकडलगायत विवादित घटनाको वास्तविकता पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको हो ।
बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले निर्वाचनबाट प्राप्त बहुमत सरकारलाई संविधान र कानुनभन्दा माथि रहने छुट नहुने बताएका छन् । उनले पछिल्ला घटनाले नागरिक अधिकार, सञ्चार स्वतन्त्रता र संवैधानिक संस्थाहरूको स्वायत्ततामाथि चिन्ता बढाएको धारणा राखे ।
कांग्रेसले पक्राउसम्बन्धी आवश्यक कानुनी प्रक्रिया पूरा नगरी समाचार कक्षमै प्रहरी पठाएर पत्रकारलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको जनाएको छ । यस्तो कार्यले स्वतन्त्र पत्रकारितामा हस्तक्षेप गर्ने र कानुनी शासनको मान्यतामाथि आघात पुर्याउने आङदेम्बेको भनाइ छ ।
उनले सरकारका गतिविधिबारे संसद् र नागरिकसमक्ष स्पष्ट जवाफ आउनुपर्ने मागसमेत गरे । कानुनी प्रक्रिया मिचेर राज्यका निकाय परिचालन गर्ने प्रवृत्ति स्वीकार्य नहुने कांग्रेसको धारणा छ ।
बैठकले पत्रकारमाथि भएका कारबाही तथा सरकारसँग सम्बन्धित अन्य विवादित घटनाको निष्पक्ष र पारदर्शी अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । अनुसन्धानबाट दोषी ठहर हुनेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न पनि पार्टीले माग गरेको छ ।
सरकारले जनहित र सुशासनका पक्षमा गर्ने काममा सहयोग रहने तर संविधान, प्रेस स्वतन्त्रता र शक्ति सन्तुलनको मान्यताविपरीतका कदमको विरोध गरिने आङदेम्बेले बताएका छन् ।
