काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको छ । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले संसद्का दुवै सदन सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकपछि प्रमुख सचेतक बासना थापाले संसद् बैठक आह्वानसँगै न्यायालयमा बिचौलियामार्फत मुद्दा प्रभावित पारिएको भनिएको घटनाको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठनको माग पनि गरिएको जानकारी दिइन् ।
न्यायालयमा भएको भनिएको सेटिङ प्रकरणमा न्यायाधीश, सरकार प्रमुख र प्रहरी नेतृत्वसमेतको नाम जोडिएकाले सरकारी निकायबाट मात्रै हुने अनुसन्धानप्रति विश्वस्त हुन नसकिने कांग्रेसको धारणा रहेको थापाले बताइन् ।
उनका अनुसार घटनाको निष्पक्षता र विश्वसनीयता सुनिश्चित गर्न संसद्बाटै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने पार्टीको निष्कर्ष छ ।
यसैगरी बैठकमा प्रेस स्वतन्त्रताको संरक्षण, न्यायालयको निष्पक्षता तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र स्वायत्तता कायम राख्नुपर्ने विषयमा पनि छलफल भएको थापाले जानकारी दिइन् ।
कांग्रेसले यी विषयमा संसद्मा विस्तृत छलफल हुनुपर्ने आवश्यकता औँल्याउँदै तत्काल अधिवेशन आह्वान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
