काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले डिजिटल प्रविधिको विस्तारले वित्तीय सेवा प्रवाहमा व्यापक परिवर्तन ल्याउनुका साथै मुलुकको आर्थिक विकासलाई गति दिन सक्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकले वित्तीय सेवाको पहुँचबाट बाहिर रहेका तथा सीमित पहुँच भएका समुदायलाई लक्षित गरी आयोजना गरेको ‘डिजिटल ऋण तथा कर्जा सेवा’ विषयक अन्तरक्रियामा बोल्दै उनले प्रविधिको प्रयोगले वित्तीय क्षेत्रलाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउन सक्ने धारणा राखेका हुन् ।
पौडेलका अनुसार कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा विश्लेषणजस्ता आधुनिक प्रविधिले वित्तीय सेवाको पहुँच तथा गुणस्तर बढाउन र सेवा सञ्चालनको लागत घटाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।
यस्ता प्रविधिमा आधारित नवप्रवर्तनले बैंकिङ तथा वित्तीय सेवाबाट वञ्चित समुदायलाई समेट्न सहयोग पुग्ने उनको विश्वास छ । यसबाट वित्तीय समावेशिता बढ्नुका साथै वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र समग्र अर्थतन्त्रको विकासमा समेत सकारात्मक प्रभाव पर्ने उनले बताए ।
नेपाल राष्ट्र बैंकले लामो समयदेखि वित्तीय क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग र डिजिटल सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै पौडेलले नेपालको डिजिटल बैंकिङ प्रणालीले उल्लेखनीय प्रगति गरेको बताए ।
उनका अनुसार विद्युतीय कार्ड, एटीएम र एसएमएस बैंकिङबाट सुरु भएको डिजिटल वित्तीय सेवाको अभ्यास अहिले मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा नयाँ भुक्तानी प्रणालीसम्म विस्तार भइसकेको छ ।
डिजिटल कारोबार र वित्तीय सेवाको प्रयोग बढ्दै जाँदा साइबर सुरक्षा तथा विश्वसनीयताको विषय पनि उत्तिकै महत्त्वपूर्ण हुने उनले औँल्याए । प्रविधिमा आधारित वित्तीय सेवालाई सुरक्षित र भरपर्दो बनाउन राष्ट्र बैंकले नियामकीय तथा सुपरिवेक्षणसम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लगेको पौडेलले स्पष्ट पारे ।
