अनलाइनखबरका प्रधानसम्पादक वसन्त बस्नेतका अनुसार नेपाली समाजमा आफ्नो क्षमता, साहस र मेहनतबाट परिवर्तनको नेतृत्व गरिरहेका महिलालाई पहिचान गरी सम्मान गर्ने उद्देश्यले २०८० सालदेखि यो अभियान सुरु गरिएको हो।
उनले महिलाको अधिकारसँगै उनीहरूको शक्ति, क्षमता र उपलब्धिलाई पनि समाजसामु प्रस्तुत गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताए।
बस्नेतले यो पहल महिलाको संघर्ष, सशक्तीकरण, निरन्तरको मेहनत र प्रतिभालाई सम्मान गर्ने अवसरसमेत भएको उल्लेख गरे। उनका अनुसार महिला सशक्तीकरण र उपलब्धिको उत्सव मनाउनु समग्र समाजको साझा जिम्मेवारी हो।
मनोनयनका लागि आफ्नो क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेका, स्थापित मान्यतालाई चुनौती दिएका, प्रतिकूल परिस्थितिमा पनि परिवर्तनको अगुवाइ गरेका तथा समाजमा सकारात्मक र अर्थपूर्ण प्रभाव पारेका महिलालाई प्रस्ताव गर्न सकिनेछ।
अनलाइनखबरले यसअघि २०८०, २०८१ र २०८२ सालको अन्तर्राष्ट्रिय महिला दिवसमा पनि ‘५० प्रभावशाली महिला’ को सूची सार्वजनिक गरिसकेको छ।
यस वर्ष प्राप्त हुने मनोनयनसँगै अनलाइनखबरको समाचार कक्ष, विभिन्न सरोकारवाला व्यक्ति तथा अन्य स्रोतबाट सङ्कलित जानकारीका आधारमा प्रारम्भिक सूची तयार गरिने प्रधानसम्पादक बस्नेतले जानकारी दिए।
तयार पारिएको प्रारम्भिक सूची निर्णायक समितिसमक्ष प्रस्तुत गरिनेछ। समितिको छनोट तथा सिफारिसका आधारमा अन्तिम ५० जनाको नाम तय गरी आगामी मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसका दिन सार्वजनिक गरिनेछ।
मनोनयन दर्ता गर्ने अन्तिम मिति २०८३ साल मंसिर २० गते साँझसम्म तोकिएको छ।
