नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा ओर्लिएको छ। गत साता लगातार बढेको नेप्से यसपटक कारोबार सुरु भएसँगै घटेको हो।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत शुक्रबार आठ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो। आज सात अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँबराबरको एक करोड ९८ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
सोमबार घलेम्दी हाइड्रो कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको करिब साढे २९ करोड र कुमारी बैंकको करिब २८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
बेनी हाइड्रोपावरको सेयरमूल्य १३.५८ प्रतिशत बढेको छ। १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।
