काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल) ले विवादमा मुछिएका सर्वोच्च अदालतका न्यायाधीशहरूबारे उठेका प्रश्नको निष्पक्ष निरूपण नभएसम्म उनीहरूलाई न्याय सम्पादनको जिम्मेवारीमा संलग्न नगराउनु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ।
संस्थाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानन्यायाधीशसहित केही न्यायाधीशको बिचौलियासँग सम्बन्ध रहेको विषयमा सञ्चारमाध्यममा आएका समाचार र सम्बन्धित न्यायाधीशहरूले दिएका स्पष्टीकरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
न्यायाधीशले विचाराधीन मुद्दासँग सरोकार राख्ने पक्ष, बिचौलिया वा प्रभावशाली व्यक्तिसँग भेटघाट अथवा सम्पर्क गर्नु न्यायिक आचरण र आचारसंहिताविपरीत हुने टीआई नेपालको ठहर छ। यस्तो व्यवहारले न्यायपालिकाको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउने संस्थाको भनाइ छ।
संस्थाका अनुसार सार्वजनिक रूपमा आएका प्रश्नहरू गम्भीर प्रकृतिका भएकाले सम्बन्धित न्यायाधीशले दिएका स्पष्टीकरणले मात्रै तिनको निराकरण हुन सक्दैन। न्यायिक जिम्मेवारीमा रहेका व्यक्तिले कानुनी व्यवस्थाको पालना मात्र नभई उच्च नैतिक आचरणसमेत कायम गर्नुपर्ने टीआई नेपालले उल्लेख गरेको छ।
यस प्रकरणको सत्यतथ्य पत्ता लगाउन ढिलाइ नगरी संसदीय समितिमार्फत निष्पक्ष अनुसन्धान गर्न र त्यसका आधारमा आवश्यक निर्णय लिन पनि संस्थाले आग्रह गरेको छ। साथै, विवादमा परेका न्यायाधीशहरूको सम्पत्तिसमेत छानबिनको दायरामा ल्याउनुपर्ने माग गरिएको छ।
टीआई नेपालका उपाध्यक्ष सरोजप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा न्यायपालिकाप्रतिको जनविश्वास कायम राख्न यस विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ।

