काठमाडौं । रुस र युक्रेनका आपत्कालीन सूचना प्रणालीमा साइबर हमला भएपछि दुवै मुलुकबीच आरोप–प्रत्यारोप सुरु भएको छ। पाँच दिनका लागि लागू गरिएको युद्धविराम नोभेम्बर १ मा सकिएसँगै दुई देशबीच पुनः सैन्य गतिविधि तीव्र हुन सक्ने आशङ्का बढेको छ।
रुसको आपत्कालीन मन्त्रालयले आफ्नो मोबाइल एपमा अनधिकृत पहुँच बनाएर सर्वसाधारणलाई गलत सूचना पठाइएको जनाएको छ। एपमार्फत ड्रोन आक्रमणलगायत सम्भावित खतराबारे भ्रामक चेतावनी प्रवाह भएको मन्त्रालयको भनाइ छ।
यसअघि युक्रेनको आपत्कालीन सूचना प्रणालीमा विकिरणको जोखिम रहेको गलत सन्देश प्रसारित भएको थियो। युक्रेनले उक्त घटनामा रुसी पक्षको संलग्नता रहेको आरोप लगाएको छ। तर, आफ्नो प्रणालीमा भएको साइबर हमलाबारे रुसले भने कसैलाई दोषी ठहर गरेको छैन।
युक्रेनी मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सले युद्धविरामका कारण रुसी नियन्त्रणमा रहेको ओलेस्की सहरमा मानवीय सहायता पुर्याउन सम्भव भएको बताएका छन्। यद्यपि, युद्धविरामलाई सैन्य तयारीका लागि उपयोग गरिएको युक्रेनी पक्षको आरोप छ। एक युक्रेनी सैन्य अधिकारीका अनुसार उक्त अवधिमा रुसी सेनाले थप सैनिक तैनाथ गर्नुका साथै गोलाबारुद सञ्चय र निगरानी ड्रोनमार्फत सूचना सङ्कलन गरेको थियो।
युद्धविरामको अवधि सकिएपछि खेरसन क्षेत्रका गभर्नर ओलेक्सान्डर प्रोकुडिनले सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरेका छन्।
उता, रुसले आफ्नो औद्योगिक क्षेत्रमा युक्रेनी ड्रोनबाट आक्रमण भएको दाबी गरेको छ। युक्रेनी सञ्चारमाध्यमले भने कोस्टोभोस्थित तेल प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको समाचार सार्वजनिक गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका तेल प्रशोधन केन्द्रमाथि गरिने आक्रमण रोक्न युक्रेनको ऊर्जा संरचनामाथिका रुसी हमला पनि अन्त्य हुनुपर्ने बताएका छन्। रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
यसैबीच, अमेरिकाको मध्यस्थतामा रोकिएको दुई देशबीचको वार्ता यही महिना फेरि सुरु गर्ने तयारी भइरहेको छ। पछिल्लो साइबर आक्रमण र युद्धविरामपछिको तनावले वार्ताको वातावरण कस्तो बन्ने भन्ने चासो बढाएको छ।
