रौतहटको कटहरिया इलाका प्रहरी कार्यालय वर्षौंदेखि पूर्वाधार अभावको समस्यामा छ ।
२३ जनाको दरबन्दी रहेको कार्यालयमा १० जना मात्रै कार्यरत, जग्गाको स्वामित्व विवादले भवन निर्माण र स्तरोन्नति रोकियो ।
सामान्य उजुरीबाहेकका कानुनी प्रक्रिया अघि बढाउन स्थानीयलाई गरुडा वा गौर पुग्नुपर्ने बाध्यता ।
रौतहट । रौतहटको कटहरिया बजारमा रहेको इलाका प्रहरी कार्यालय वर्षौंदेखि भौतिक पूर्वाधार र जनशक्ति अभावको समस्याबाट गुज्रिरहेको छ । राजनीतिक नेतृत्व र स्थानीय सरकारको नेतृत्व पटक–पटक परिवर्तन भए पनि प्रहरी कार्यालयको अवस्था भने सुधार हुन सकेको छैन ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको कटहरियाको प्रहरी कार्यालय अहिले पनि ‘ग’ श्रेणीमै सीमित छ । प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा सञ्चालित कार्यालयमा पर्याप्त जग्गा र आवश्यक सुविधासहितको भवन छैन । आपराधिक घटनासम्बन्धी मुद्दा दर्ता गर्ने अधिकारसमेत नहुँदा स्थानीयले सामान्य उजुरीबाहेकका कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय गरुडा वा जिल्ला प्रहरी कार्यालय गौर पुग्नुपर्ने अवस्था छ ।
पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले यस कार्यालयलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) तहको नेतृत्वमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, उनको प्रतिबद्धताले अहिलेसम्म मूर्तरूप पाउन सकेको छैन ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट रौतहट क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका साह ठूलो मतान्तरसहित निर्वाचित भएका थिए । निर्वाचित भएको करिब एक महिनापछि कटहरिया पुग्दा स्थानीय कार्यकर्ता तथा व्यापारी योगेन्द्र साहको निवासमा आयोजित कार्यक्रममा उनले प्रहरी कार्यालयको अवस्थाबारे चासो राखेका थिए ।
त्यसक्रममा उनले कटहरियामा डीएसपीको नेतृत्वमा प्रहरी कार्यालय सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक पहल गर्ने आश्वासन दिएका थिए । तर, त्यसयता लामो समय बितिसक्दा पनि कार्यालयको संरचना र प्रशासनिक हैसियतमा परिवर्तन आउन सकेको छैन ।
साह पछि सहरी विकासमन्त्री बने भने २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा पुनः प्रतिनिधिसभामा निर्वाचित भए । उनको पहलमा क्षेत्रका विभिन्न स्थानमा सडक तथा पूर्वाधार विकासका काम अघि बढे । मौलापुर, देवाही गोनाही र विजयपुरमा स्थापना भएका प्रहरी कार्यालयसमेत स्तरोन्नति भएर प्रहरी निरीक्षक (इन्स्पेक्टर) को दरबन्दी कायम भएको छ । तर, क्षेत्रको केन्द्र मानिने कटहरियाको प्रहरी कार्यालय भने त्यसबाट लाभान्वित हुन सकेन ।
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि रौतहट क्षेत्र नम्बर ३ बाट विभिन्न दलका नेताहरू निर्वाचित हुँदै आएका छन् । नेपाली कांग्रेसका स्वर्गीय हरिहरप्रसाद यादव दुईपटक निर्वाचित भए । त्यसपछि जनता समाजवादी पार्टीका गोविन्द चौधरी दुईपटक, नेकपा एमालेका डा. वंशीधर मिश्र एकपटक, कांग्रेसका सुनिल यादव जितेन्द्र एकपटक र प्रभु साह दुईपटक संघीय संसदमा पुगे ।
प्रदेशसभामा पनि कुन्दन कुशवाहा र सुनिलकुमार यादवले प्रतिनिधित्व गरे । स्थानीय तहमा २०७४ मा माओवादी केन्द्रका सियाराम कुशवाहा नगरप्रमुख निर्वाचित भए भने २०७९ मा कांग्रेसका अजयप्रकाश जैसवालले नेतृत्व सम्हाले ।
त्यस्तै, कटहरिया नगरपालिका–५ मा सर्फलाल गुप्ता दुई कार्यकाल वडाध्यक्ष बने । प्रभु साह निकट मानिने सियाराम कुशवाहाको कार्यकालमा पनि प्रहरी कार्यालयको समस्या समाधान हुन सकेन । त्यसपछिका नगरप्रमुख र वडाध्यक्षले समेत जग्गा व्यवस्थापन तथा कार्यालय स्तरोन्नतिको विषयलाई प्राथमिकतामा नराखेको स्थानीयको गुनासो छ ।
२०७४ को निर्वाचनपछि तत्कालीन नगरप्रमुख कुशवाहा र प्रदेशसभा सदस्य कुन्दन कुशवाहाले केही प्रयास गरे पनि त्यसले ठोस परिणाम दिन नसकेको बताइन्छ ।
यसरी संघीय सांसददेखि प्रदेश सांसद, मन्त्री, नगरप्रमुख र वडाध्यक्षसम्म परिवर्तन भइरहँदा पनि कटहरिया प्रहरी कार्यालयको भौतिक तथा प्रशासनिक अवस्था भने पुरानै अवस्थामा छ ।
२३ जनाको दरबन्दीमा १० जना मात्रै कार्यरत
इलाका प्रहरी कार्यालय कटहरियामा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा २३ जनाको दरबन्दी रहे पनि हाल १० जना मात्रै कार्यरत छन् । कार्यालय प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक जयप्रकाश साहका अनुसार जनशक्ति अभावले नियमित गस्ती, बजारको सुरक्षा र नागरिकको जिउधनको संरक्षणमा कठिनाइ भइरहेको छ ।
कार्यालयको कार्यक्षेत्रमा कटहरिया नगरपालिकाका पाँच वडासहित मातहतका थप दुई वडा पर्दछन् । तुलनात्मक रूपमा ठूलो क्षेत्रको सुरक्षा जिम्मेवारी सीमित प्रहरी जनशक्तिले सम्हाल्नुपर्दा सेवा प्रवाहमा समस्या थपिएको छ ।
कटहरिया–५ का समाजसेवी दिनानाथ साहका अनुसार सामान्य विवाद समाधानबाहेक मुद्दा दर्ता तथा अन्य कानुनी प्रक्रिया अघि बढाउन स्थानीयले गरुडा वा गौर पुग्नुपर्ने बाध्यता छ ।
उनका अनुसार सानातिना कामका लागि समेत टाढा जानुपर्दा सर्वसाधारणको समय र खर्च बढिरहेको छ । स्थानीय विवादमा मेलमिलाप वा पञ्चायती गर्नुपर्ने अवस्थामा समेत अर्को स्थान पुग्नुपर्ने समस्या रहेको उनले बताए ।
जग्गाको स्वामित्व विवादले रोकियो भवन निर्माण
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार प्रहरी कार्यालयको नाममा जग्गा दर्ता नहुँदा भवन निर्माण र स्तरोन्नतिको प्रक्रिया अघि बढ्न सकेको छैन ।
स्थानीय तह वा सम्बन्धित निकायले जग्गाको स्वामित्वसम्बन्धी समस्या समाधान गरी प्रहरी कार्यालयको नाममा दर्ता गराउन सके सरकारी बजेटबाट भवन निर्माण गर्न सकिने उनले बताए । जग्गा व्यवस्थापन भएपछि कार्यालयको स्तरोन्नतिका लागि समेत बाटो खुल्ने उनको भनाइ छ ।
हाल प्रहरी कार्यालयले प्रयोग गरिरहेको १७ कठ्ठा जग्गामध्ये आठ कठ्ठामा प्रहरी कार्यालयको मोही हक कायम छ । बाँकी नौ कठ्ठा भने स्थानीय सन्तलाल साहको स्वामित्वमा रहेको छ ।
जग्गाको स्वामित्व र दर्तासम्बन्धी विवाद टुंगोमा नपुग्दा नयाँ भवन निर्माणका लागि सरकारी लगानी भित्रिन सकेको छैन । परिणामस्वरूप लामो इतिहास बोकेको कटहरिया प्रहरी कार्यालय अहिले पनि पुरानै संरचनाबाट सेवा दिन बाध्य छ ।
पूर्वाधार निर्माण, जग्गा व्यवस्थापन र जनशक्ति थप गर्ने विषयमा सम्बन्धित निकायले समयमै ध्यान नदिए स्थानीयले भोग्दै आएको सुरक्षा तथा प्रशासनिक सेवासम्बन्धी समस्या अझै लम्बिने देखिन्छ ।
