सुरुङ खनेर आठ कैदी फरार भएको घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नेतृत्वको टोली डोल्पा पुगेको छ।टोलीमा केन्द्रीय प्रहरी कार्यालयका तीन र कर्णाली प्रदेश प्रहरी कार्यालयका एक सदस्य सहभागी छन्।शुक्रबार राति जबर्जस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन कैदी करिब चार मिटर लामो सुरुङ बनाएर भागेका थिए। उनीहरूको खोजी जारी छ।
सुर्खेत । डोल्पा कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएको घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय टोली परिचालन गरेको छ। एसएसपीको नेतृत्वमा रहेको टोली डोल्पा पुगेर अनुसन्धानको तयारी थालेको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार घटनाको छानबिनका लागि जिल्लास्तरमा पनि समिति गठन गरिएको छ। उक्त समितिले केही दिनअघिदेखि नै काम गरिरहेको छ भने केन्द्रीय टोली पनि अनुसन्धानमा जुट्नेछ।
केन्द्रीय टोलीको नेतृत्व एसएसपी राजिवबहादुर बस्नेतले गरेका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगञ्ज) मा कार्यरत बस्नेतले आफ्नो नेतृत्वमा पाँच सदस्यीय टोली डोल्पा पुगेको जानकारी दिएका छन्।
टोलीमा प्रहरी प्रधान कार्यालयका तीन जना र कर्णाली प्रदेश प्रहरी कार्यालयका एक जना सदस्य छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको नेतृत्वमा छुट्टै छानबिन समिति पनि गठन भएको छ। घटनाको अध्ययन तथा अनुसन्धान पूरा गर्न केही समय लाग्ने प्रहरीको भनाइ छ।
शुक्रबार राति जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पाँच र चोरी मुद्दाका तीन गरी आठ जना कैदीले कारागारबाट करिब चार मिटर लामो सुरुङ खनेर फरार भएका थिए।
फरार कैदीहरूको खोजीका लागि प्रहरीले परिचालन बढाए पनि उनीहरू अहिलेसम्म पक्राउ परेका छैनन्।
