राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमका अनुसार भ्रमण गर्ने पर्यटकमध्ये २ लाख ६२ हजार १२ जना सार्क राष्ट्रका र २८ हजार २७५ जना अन्य देशका नागरिक रहेका छन्।
एक्यापको तथ्याङ्कअनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म मुस्ताङमा कुल १ लाख ६१ हजार १४१ जना विदेशी पर्यटक आएका थिए। तर सन् २०२६ को पहिलो १० महिनामै पर्यटक आगमन ७७.६२ प्रतिशतले बढेको जनाइएको छ।
एक्याप जोमसोमका प्रमुख राजेश गुप्तका अनुसार गत वर्षको तुलनामा यस वर्षको पहिलो १० महिनामै १ लाख २३ हजार ४७५ जना पर्यटक थपिएका छन्।
सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्यामा सबैभन्दा बढी वृद्धि देखिएको छ। सन् २०२५ को तुलनामा सन् २०२६ मा सार्क राष्ट्रका पर्यटकको आगमन ९७ प्रतिशतले बढेको एक्यापले जनाएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष १ लाख २९ हजार १४६ जना बढी सार्क मुलुकका पर्यटक मुस्ताङ पुगेका हुन्।
तर अन्य राष्ट्रबाट आउने पर्यटकको सङ्ख्यामा भने कमी देखिएको छ। सन् २०२५ को १२ महिनामा २३ हजार ६०४ जना अन्य देशका पर्यटक मुस्ताङ पुगेका थिए। सन् २०२६ को पहिलो १० महिनामा भने अघिल्लो वर्षको तुलनामा ४ हजार ६७१ जना कम पर्यटक आएका छन्। यो करिब १६.५ प्रतिशतको गिरावट हो।
एक्याप प्रमुख गुप्तले नोभेम्बर र डिसेम्बर गरी अझै दुई महिना बाँकी रहेकाले चालु वर्षमा पर्यटक आगमन गत वर्षभन्दा कम नहुने अपेक्षा व्यक्त गरेका छन्।
यस वर्ष विभिन्न प्राकृतिक तथा यातायातसम्बन्धी समस्याले मुस्ताङको पर्यटन क्षेत्रमा केही असर पारेको थियो। रसुवागढीमा आएको विनाशकारी बाढी, जोमसोम–कोरला सडक अवरुद्ध हुनु, हवाई सेवा स्थगित हुनु तथा प्रतिकूल मौसमका कारण पर्यटक आवागमन प्रभावित भएको जनाइएको छ।
यद्यपि समग्र पर्यटक आगमनमा भने उल्लेख्य वृद्धि भएको छ। एक्यापका अनुसार सार्क राष्ट्रबाट पर्यटक बढ्नुको प्रमुख कारण भारतीय पर्यटकको आगमनमा भएको वृद्धि हो। मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या हरेक वर्ष बढ्दै गएको कार्यालयले जनाएको छ।
त्यस्तै, अन्य मुलुकका पर्यटकमध्ये अन्नपूर्ण चक्रीय पदमार्गको यात्रा गर्नेहरू पनि उल्लेख्य छन्। उनीहरू मनाङबाट थोरङ्ला पास पार गर्दै मुस्ताङ प्रवेश गर्ने गरेको एक्यापले जनाएको छ।
