मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार नदी नियन्त्रण कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
पहिलो त्रैमासिकका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यो त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत हो।
बजेट खर्चको तुलनामा भौतिक प्रगति भने ३४ दशमलव ९ प्रतिशत पुगेको महाशाखाले जनाएको छ। उक्त अवधिमा २ दशमलव ९ किलोमिटर तटबन्ध निर्माण गर्नुका साथै एक हेक्टर जग्गा उकास गरिएको प्रमुख थापाले जानकारी दिए।
महाशाखाका अनुसार केही आयोजनाले निर्धारित त्रैमासिक लक्ष्यभन्दा बढी प्रगति गरेका छन्।
चितवनको भरतपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले निर्धारित भौतिक लक्ष्यको १६० दशमलव ८ प्रतिशत प्रगति गरेको छ। त्यस्तै, टार–बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत लक्ष्य हासिल गरेको छ।
यसैगरी दाङको लमहीमा ८६ दशमलव ५ प्रतिशत, कञ्चनपुरमा ८२ दशमलव ५ प्रतिशत र धनुषाको जनकपुरमा ८२ दशमलव ३ प्रतिशत भौतिक प्रगति भएको महाशाखाले जनाएको छ।
