काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले मुलुकको राजनीतिक उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र विद्यमान संकटको सामना गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएकी छन्।
मंगलबार काठमाडौंमा नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले जनयुद्ध र विभिन्न जनआन्दोलनबाट प्राप्त उपलब्धि कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाइन्। लोकतान्त्रिक व्यवस्था र परिवर्तनका उपलब्धि जोगाउन कम्युनिस्ट, देशभक्त तथा लोकतन्त्रवादी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
भुजेलले नेपालमा बाह्य हस्तक्षेप बढिरहेको दाबी गर्दै राष्ट्रिय स्वाधीनतामाथि चुनौती थपिएको बताइन्। उनले अमेरिकी सेनाले नेपालमा क्याम्प राख्न सक्ने अवस्था आउन सक्ने र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कुनै न कुनै रूपमा कार्यान्वयन हुन सक्ने आशंकासमेत व्यक्त गरिन्।
उनका अनुसार विगतमा ६४–६५ प्रतिशत जनमत प्राप्त गरेको कम्युनिस्ट आन्दोलन अहिले घटेर २२–२३ प्रतिशतमा सीमित भएको छ। दुईतिहाइ बहुमतसहित सरकार सञ्चालन गरिसकेका कम्युनिस्ट शक्तिहरू अहिले राजनीतिक रूपमा कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै उनले आन्दोलनको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइन्।
कम्युनिस्ट शक्तिहरूले आफ्नो कार्यशैली र संगठनात्मक संरचनामा परिवर्तन गरी नयाँ ढंगले अघि बढ्न नसके राजनीतिक प्रभाव थप कमजोर हुने उनको चेतावनी छ। उनले सबै कम्युनिस्ट शक्तिलाई पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा एकताबद्ध हुन आह्वान गरिन्।
तर पार्टी एकताको उद्देश्य संगठनको आकार बढाउनमा मात्र सीमित हुन नहुने उनको भनाइ छ। ठूलो संगठन निर्माणसँगै आन्तरिक व्यवस्थापन र कार्यशैली सुधार गर्दै समाजवाद स्थापनाको लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने उनले बताइन्।
