संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अवधारणाअनुसार नेपाल पर्यटन बोर्डले पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो। नेपालको मौलिक संस्कृति, कला तथा परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अभियानअन्तर्गत प्रतियोगिता सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ।
प्रतियोगितामार्फत कुकुर तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्वका साथै मानिस र कुकुरबीचको आत्मीयता, विश्वास र निःस्वार्थ सम्बन्धलाई डिजिटल माध्यमबाट विश्वसामु प्रस्तुत गर्ने लक्ष्य राखिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले कुकुर तिहारसँग सम्बन्धित मौलिक र सिर्जनात्मक भिडियो रील तयार गर्नुपर्नेछ। भिडियोमा कुकुरसँग बिताएका रमाइला क्षण, उनीहरूको वफादारी, प्रेम र मानिससँगको सम्बन्धलाई कथात्मक रूपमा प्रस्तुत गर्न सकिनेछ।
कसरी सहभागी हुने ?
प्रतियोगितामा सहभागी हुन तयार पारिएको भिडियो आफ्नो फेसबुक वा इन्स्टाग्राम अकाउन्टबाट सार्वजनिक गर्नुपर्नेछ। भिडियो पोस्ट गर्दा अंग्रेजीमा #NepalTourism र #KukurTihar ह्यासट्याग अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ।
इन्स्टाग्राममा भिडियो पोस्ट गर्ने सहभागीले @nepaltourism लाई ट्याग गर्नुपर्नेछ। फेसबुक प्रयोगकर्ताले भने नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्ने व्यवस्था गरिएको छ।
अंग्रेजी भाषा अनिवार्य
प्रतियोगिताका लागि तयार गरिने रील अंग्रेजी भाषामा हुनुपर्नेछ। भिडियोमा अंग्रेजी भाषाको भ्वाइसओभर वा अंग्रेजी सबटाइटल अनिवार्य राख्नुपर्नेछ। यस व्यवस्थाले नेपाली संस्कृति र परम्परालाई विदेशी दर्शकमाझ समेत पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
भिडियो कहाँ र कहिलेसम्म पठाउने ?
सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिसकेपछि त्यसको गुगल ड्राइभ लिंक photonepa@ntb.org.np इमेल ठेगानामा पठाउनुपर्नेछ। सहभागीले पठाउने लिंकबाट भिडियो हेर्न र डाउनलोड गर्न मिल्ने गरी पहुँचको अनुमति खुला राख्नुपर्नेछ।
प्रतियोगितामा सहभागी हुन चाहनेले सन् २०२६ नोभेम्बर २१ भित्र आफ्नो भिडियो पठाइसक्नुपर्नेछ।
कुकुरलाई विशेष पूजा गरेर सम्मान गर्ने नेपाली परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगिताले कुकुर तिहारको सांस्कृतिक महत्त्व र मानिस तथा जनावरबीचको आत्मीय सम्बन्धलाई नयाँ पुस्ता र विश्व समुदायसम्म पुर्याउने अपेक्षा गरिएको छ।
