काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी र मुलुकको राजनीतिक अवस्थाबारे विदेशमा फैलिने गलत सूचना तथा अफवाहको तथ्य र प्रमाणका आधारमा प्रतिवाद गर्न प्रवासी नेपालीलाई आग्रह गरेकी छन् ।
बुधबार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै भण्डारीले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको समस्या, आवश्यकता र योगदानलाई राज्यले उचित रूपमा सम्बोधन गर्नुपर्ने बताइन् ।
उनले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले नेपाली परिवारको आर्थिक अवस्था र राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेले पनि विदेशमा रहेका नेपालीको योगदानलाई पैसासँग मात्र जोडेर हेर्न नहुने धारणा राखिन् ।
विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि, अनुभव र कार्यसंस्कृतिलाई नेपालको विकाससँग जोड्न सके त्यसले कृषि, उद्योग, शिक्षा, प्रविधि र सेवा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उनको भनाइ थियो ।
भण्डारीले प्रवासी नेपालीलाई आफू बसोबास गरिरहेको देशमा नेपालको पहिचान र प्रतिष्ठा बढाउने महत्वपूर्ण प्रतिनिधिका रूपमा चित्रण गरिन् । सम्बन्धित मुलुकको कानुन, नियम र संस्कृतिको सम्मान गर्दै इमानदारी तथा व्यावसायिक दक्षताका साथ काम गर्न उनले आग्रह गरिन् । नेपाल र आफू बसेको देशबीच मित्रता, समझदारी र सहकार्य विस्तारमा पनि प्रवासी नेपालीको भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भोगिरहेका समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्नेमा पनि भण्डारीले जोड दिइन् । श्रम शोषण, न्यून पारिश्रमिक, असुरक्षित कार्यस्थल, ठगी र सम्झौताभन्दा फरक काममा लगाउनेजस्ता समस्या अझै कायम रहेको उनले उल्लेख गरिन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन रोजगारदाता मुलुकसँग प्रभावकारी श्रम सम्झौता गर्नुपर्ने उनको सुझाव थियो । श्रमिकको उचित पारिश्रमिक, कानुनी अधिकार, स्वास्थ्य तथा दुर्घटना बीमा र सामाजिक सुरक्षाको सुनिश्चितता राज्यको प्राथमिकतामा हुनुपर्ने उनले बताइन् । विदेशमा समस्यामा परेका नेपालीको उद्धार र सुरक्षित स्वदेश फिर्तीका लागि पनि प्रभावकारी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो ।
स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न प्राकृतिक स्रोतमा आधारित उद्योगलाई प्राथमिकता दिनुपर्ने भण्डारीले बताइन् । जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार, खनिजजन्य उद्योग र पर्यावरणमैत्री पर्यटनको विकासबाट रोजगारी विस्तार तथा आयात प्रतिस्थापन गर्न सकिने उनको धारणा थियो ।
यी क्षेत्रको सम्भावना उपयोग गर्न स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्ने उल्लेख गर्दै उनले प्रवासी नेपालीको पुँजी, सीप, ज्ञान र उद्यमशीलतालाई राष्ट्रिय उत्पादनसँग जोड्नुपर्ने बताइन् । लगानीका लागि अनुकूल वातावरण, नीतिगत स्थिरता र पुँजीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने उनको जोड थियो ।
एमालेको राजनीतिक भूमिका र उपलब्धिबारे चर्चा गर्दै भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा अघि बढिरहेको पार्टीले लोकतान्त्रिक प्रणालीको स्थापना तथा सुदृढीकरण, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ताको संरक्षण एवं सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गरेको बताइन् ।
पार्टीले गरेका काम र उपलब्धिबारे सही सूचना प्रवाह गर्दै तिनको निष्पक्ष मूल्याङ्कन हुनुपर्ने उनको भनाइ थियो । एमालेबारे विभिन्न माध्यमबाट फैलाइने गलत सूचना, भ्रम र अफवाहलाई तथ्य तथा प्रमाणका आधारमा खण्डन गर्न उनले प्रवासी नेपालीलाई आग्रह गरिन् ।
विदेशमा रहेका नेपाली समुदायलाई नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरूबारे सही जानकारी पुर्याउन तथा तथ्यमा आधारित स्वस्थ बहसको वातावरण बनाउन पनि भण्डारीले आग्रह गरेकी छन् ।
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनमा विश्वका ३८ देशबाट ३५० जना प्रतिनिधि सहभागी हुने जनाइएको छ । दुई दिनसम्म चल्ने अधिवेशनले अन्तर्राष्ट्रिय कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । समापन समारोहलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
