सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले मधेसमा युवा नेतृत्वको आवश्यकता र राजनीतिक पुस्तान्तरणबारे बहस सुरु गरेको छ । काठमाडौंसहित मधेसका विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गरिसकेको प्रतिष्ठानले मंगलबार पर्साको वीरगन्जमा ‘मधेस : अबको बाटो, मधेसी राजनीतिको समीक्षा’ विषयक छलफल आयोजना गरेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सञ्चालक तथा सामाजिक अभियन्ता सञ्जय यादवले मधेसी दलहरू राजनीतिमा स्थापित भए पनि जनताको जीवनस्तर र सामाजिक परिवर्तनका सवालमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए ।
उनका अनुसार विगतमा राजनीतिक नेतृत्व र सत्ताको समीकरण परिवर्तन भइरहे पनि आम नागरिकका समस्या समाधानमा पर्याप्त ध्यान पुग्न सकेन । मधेसका जनता अब वास्तविक परिवर्तनको पक्षमा रहेकाले त्यसको नेतृत्व युवा पुस्ताले गर्नुपर्ने उनको भनाइ थियो ।
‘अब पुरानो मधेस रहेन, नयाँ मधेस बनिसकेको छ । त्यसैले बदलिएको परिस्थितिअनुसार नयाँ सोच र नयाँ राजनीतिक शैली अपनाउन आवश्यक छ,’ यादवले जोड दिए ।
कार्यक्रममा अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि मधेसी दल तथा नेताहरूप्रतिको जनविश्वास कमजोर बनेको धारणा राखे । मधेसका आधारभूत राजनीतिक तथा सामाजिक मुद्दाहरू अझै सम्बोधन हुन नसकेको उल्लेख गर्दै उनले ती मुद्दा पूरा गराउन राज्यलाई दबाब दिने प्रभावकारी रणनीति आवश्यक रहेको बताए ।
छलफलमा पूर्वसांसद प्रह्लाद गिरी र बिक्की यादव, अर्थशास्त्री प्राध्यापक इन्दुशेखर मिश्र, प्राध्यापक डा. हरेराम ठाकुर, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वप्रमुखद्वय ए.के. झा र डा. उमेश चौरसियालगायतले पनि धारणा राखेका थिए ।
उनीहरूले पछिल्ला निर्वाचनबाटै मधेसी दल तथा नेताहरूको कार्यसम्पादनबारे जनताले आफ्नो मूल्याङ्कन गरिसकेको उल्लेख गर्दै पुरानै राजनीतिक शैलीबाट अब अघि बढ्न नसकिने बताए ।
मधेसको बदलिँदो राजनीतिक परिस्थिति र जनअपेक्षालाई सम्बोधन गर्न युवा पुस्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको निष्कर्ष थियो । साथै, नयाँ नेतृत्वले राजनीतिक परिवर्तनको नारामा मात्र सीमित नभई शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र मधेसका अधुरा मुद्दा सम्बोधन गर्ने स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
