मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा मंगलबार बेलुकी सार्वजनिक गरिएको गीत फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेकी हुन्।
उडान इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले गीत र कलाकारहरूको प्रशंसा गरेका छन्। उनले मधेश प्रदेशमा यस स्तरको सम्भवतः पहिलो पटक यस्तो गीत निर्माण भएकोमा गर्व महसुस भएको बताएका छन्। साथै, उनले आगामी दिनमा निर्माता र सम्पूर्ण टिमलाई थप ऊर्जाका साथ यसै प्रकारका गीत–संगीत र चलचित्र निर्माण गर्न आग्रह गरेका छन्। उनले मधेश प्रदेश सरकार कलाकार तथा धर्म–संस्कृतिको प्रवर्द्धनका लागि सदैव साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सार्वजनिक गीतमा शिव साजनको शब्द तथा संगीत, शिशिर पाण्डेको संगीत संयोजन र अनिल बागीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।
सार्वजनिक गीतमा छठपर्व मनाउँदा श्रद्धालुहरूले अपनाउने विधि तथा गर्ने पूजापाठलाई भिडियोमा प्रस्तुत गरिएको छ। जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर, राजदेवी मन्दिर र ऐतिहासिक गंगासागर सरोवरमा छायांकन गरिएको छठी माताको यस गीतमा मधेश प्रदेशका कलाकारहरूले अभिनय गरेका छन्। यस गीतले मैथिली संस्कृति र छठी माताको महिमालाई उजागर गरेको छ।
गीतको भिडियोमा शर्मिला थापा, निभा यादव, इन्जिनियर सिमरन साह, अमृता साह र सिमरन सोनीको अभिनय छ। कमलेश सिंह (काम ली)ले निर्देशन गरेको भिडियो उडान प्रोडक्सन्सले निर्माण गरेको हो।
कार्यक्रममा उडान इन्टरटेन्मेन्टका सञ्चालक एवं गीतकी मुख्य पात्र शर्मिला थापाले मिथिलाको धर्म, संस्कृति र परम्परालाई उजागर गर्न आफू सदैव लागिपरिरहने बताएकी छन्।
‘सामाजिक सद्भाव र उत्तरदायित्व निर्वाह गर्न सबै धर्म र सबै चाडपर्वको सम्मान गर्नुपर्छ। यी कामहरूले मिथिलाको संस्कृति र यसको सभ्यतासँगै यहाँको परम्परालाई गीत–संगीत र चलचित्रको माध्यमबाट अगाडि ल्याउँछन् भन्ने प्रयासमा छु। आगामी दिनमा पनि यस्तै कामहरू गर्नेछु,’ उनले बताएकी छन्।
निर्मात्री थापाले अबको केही दिनपछि आफूहरूले निर्माण गरेको छोरीहरूप्रति समर्पित ‘मायाजाल’ नामक चलचित्र रिलिज हुने जानकारी पनि दिएकी छन्। उनले निर्माण गरेको नेपाली फिल्म ‘आशा’ आगामी माघेसंक्रान्तिमा प्रदर्शन हुँदैछ। भिडियोको छायांकन साजन ठाकुरले गरेका हुन्। ड्रोन सञ्चालन सञ्जय कुशवाहाले गरेका छन्।
गायिका कल्पना पटवारीले गाएका ‘बिल्लु भयङ्कर’, ‘तेरे लाई’, ‘उचा लम्बा कद’, ‘इश्कसे मिठा’, ‘शकिरा’, ‘ऐला रे ऐला’ र ‘गन्दी बात’ लगायतका गीत हिट छन्। उनी भारतीय फिल्मका साथै भोजपुरी, मराठी र बंगाली भाषाका गीतहरूमा आवाज दिने गर्छिन्। पछिल्लो समय उनले धार्मिक गीतहरू पनि गाउँदै आएकी छन्।
