चितवन । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । निउरो टिप्न जंगल गएका भीम महतोको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २ बजे चार जनाको समूहमा निउरो टिप्न गएका भरतपुर–२७ निवासी ४६ वर्षीय महतोलाई बेथरी खोलानजिक बाघले आक्रमण गरी जंगलतर्फ लगेको थियो ।
घटनापछि उनीसँगै गएका साथीहरूले मंगलबार साँझ ५ः४५ बजे इलाका प्रहरी कार्यालय दिव्यनगरमा खबर गरेका थिए ।
सूचना पाएलगत्तै नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीय बासिन्दा र वन कर्मचारीको संयुक्त टोलीले खोजी सुरु गरेको थियो । खोजीका क्रममा बुधबार बिहान १०ः५५ बजे निकुञ्जभित्र महतोको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव भेटिएको स्थाननजिकै रहेको बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
