कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले पहाडी जिल्लामा शान्ति सुरक्षा मजबुत बनाउन र सडक दुर्घटना न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
केही दिनयता प्रदेशका पहाडी जिल्लामा रहेका प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन गरिरहेका भट्टराईले जिल्ला प्रहरी प्रमुखसहित मातहतका कर्मचारीलाई प्रहरी सेवा प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका हुन्।
निरीक्षणका क्रममा उनले प्रहरी कार्यालयको भौतिक तथा प्रशासनिक अवस्था, जनशक्ति परिचालन, कार्यसम्पादन र सर्वसाधारणलाई उपलब्ध गराइँदै आएको सेवाबारे जानकारी लिएका थिए। अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउनुका साथै प्रहरी संगठनभित्र अनुशासन कायम राख्न, व्यावसायिक क्षमता बढाउन र नागरिकमैत्री व्यवहार अपनाउन उनले जोड दिएका छन्।
पहाडी क्षेत्रमा सडक दुर्घटनाको जोखिम घटाउन ट्राफिक नियमको कडाइका साथ पालना गराउने, सवारीसाधन जाँचलाई व्यवस्थित बनाउने तथा चालक र यात्रुलाई ट्राफिक सचेतना दिने कामलाई प्राथमिकता दिन पनि उनले निर्देशन दिएका छन्। नागरिकको जीउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न प्रहरी परिचालन चुस्त बनाउनुपर्ने उनको भनाइ छ।
भट्टराईले कात्तिक १६ गते बाजुरा, १७ गते अछाम र १८ गते डोटी जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका थिए।
बाजुरामा उनले भौगोलिक कठिनाइ र सुरक्षा चुनौतीका बीच नागरिकको सुरक्षामा खटिएका प्रहरी कर्मचारीको कामको प्रशंसा गरेका थिए। आगामी दिनमा पनि इमानदारी, अनुशासन र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न उनले कर्मचारीलाई आग्रह गरेका थिए।
त्यस्तै, अछाम र डोटीमा प्रहरी कार्यालयका विभिन्न शाखाको अनुगमन गर्दै उनले कार्यालय व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनको अवस्थाबारे जानकारी लिए। नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराएर प्रहरीप्रतिको विश्वास बढाउन उनले निर्देशन दिएका छन्।
