काठमाडौं । नेपाल प्रहरीको नेतृत्व अब प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीको हातमा पुगेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेसँगै उनले संगठनको सर्वोच्च जिम्मेवारी पाएका हुन्।
सरकारले यसअघि आईजीपी रहेका दानबहादुर कार्कीलाई पदबाट हटाएर केसीलाई प्रहरी नेतृत्व सुम्पिएको हो। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत केसीको नियुक्तिलाई अप्रत्याशित निर्णयका रूपमा हेरिएको छ।
केसी र कार्की एउटै ब्याचका प्रहरी अधिकारी हुन्। दुवैले चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए। लामो समय प्रहरी संगठनका विभिन्न जिम्मेवारीमा काम गरेका केसी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका कारण पनि चर्चामा आएका थिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा केसीले लामो समयदेखि अघि बढ्न नसकेको नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई तीव्रता दिएका थिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहविरुद्ध अनुसन्धान अघि बढाउने क्रममा उनको भूमिका महत्त्वपूर्ण रहेको थियो।
उनकै नेतृत्वमा रहेको टोलीले १२ चैत २०७९ मा प्रकरणका आरोपी केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेको थियो। त्यसपछि अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका थिए।
त्यतिबेला केसी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा थिए। कांग्रेस नेता बालकृष्ण खाँडलाई पक्राउ गर्न उनी नेतृत्वको टोली खाँड निवास पुगेको थियो। उक्त घटनापछि कांग्रेस नेतृत्व केसीसँग असन्तुष्ट बनेको चर्चा प्रहरी वृत्तमा चल्ने गरेको थियो। कांग्रेस सरकारमा रहँदासम्म उनले महत्त्वपूर्ण जिम्मेवारी नपाएको विषय पनि संगठनभित्र चर्चामा थियो।
भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढिरहेका बेला तत्कालीन सरकारले ४ भदौ २०८० मा केसीलाई जिम्मेवारीबाट हटाएको थियो।
त्यसपछि ५ असोज २०८२ मा सरकारले उनलाई प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरेको थियो। सीआईबीमा काम गरेपछि उनी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा पुगेका थिए।
प्रहरी सेवाका विभिन्न तह र जिम्मेवारी पार गर्दै आएका केसी अब नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका छन्।
