ट्रेलरमा अभिनेता हरिवंश आचार्यले जीतुलाई ‘भीम’ भनेर सम्बोधन गर्दा उनले आफू भीमसेन भएको जवाफ दिएको दृश्य समावेश छ। महाभारतका पाँच पाण्डवमध्ये सबैभन्दा बलिया पात्रका रूपमा चिनिने भीमसेनको भूमिकामा जीतु देखिएपछि उनको चरित्र निर्माणबारे विभिन्न जिज्ञासा उठेका छन्।
यस विषयमा स्पष्ट पार्दै जीतुले फिल्ममा आफू पूर्ण रूपमा महाभारतका भीमसेन नभएको बताए। उनका अनुसार फिल्मको कथा परम्परागत पाँच पाण्डवको कथाभन्दा फरक छ।
‘मैले आफैँलाई भीम भनेको होइन। फिल्ममा मलाई त्यही पात्रसँग जोडिएको रूपमा प्रस्तुत गरिएको छ। म वास्तवमा इँटाभट्टामा काम गर्ने मजदुर हुँ। त्यसैले निर्देशकको निर्देशन र कथाले मागेअनुसार अभिनय गरेको छु’, उनले बताए।
जीतुले फिल्ममा जोडिनुको कारण निर्देशक वसन्त निरौलासँग यसअघि ‘ज्वाइँ साब’मा काम गरिसकेको सम्बन्ध पनि रहेको बताए। लेखक सुशील पौडेलसँग पुरानै चिनजान र निर्माता नवीन श्रेष्ठसँग पनि पहिलेदेखि नै सम्बन्ध रहेकाले फिल्ममा काम गर्ने अवसर जुरेको उनको भनाइ छ।
फिल्मको कथाअनुसार स्वर्गमा रहेका युधिष्ठिर आफ्ना भाइहरूको सम्झनामा दुःखी हुन्छन्। ५१ सय वर्षपछि पनि भाइहरू कुनै न कुनै रूपमा जन्मिएका हुन सक्ने कल्पना गर्दै उनीहरूको खोजीमा नेपाल आइपुग्छन्। त्यसपछि विभिन्न पात्रलाई युधिष्ठिरले भीम, अर्जुन र नकुलका रूपमा चिनाउने प्रसंग फिल्ममा रहेको जीतुले बताए।
भीमसेनको चरित्र निर्वाह गर्न आफूले केही तयारी गरे पनि पूर्ण रूपमा त्यही पात्रका रूपमा प्रस्तुत नभएको उनले स्पष्ट पारे। आफूहरू पाण्डवको कुनै न कुनै अंशसँग जोडिएका पात्रका रूपमा रहेको उनको भनाइ छ।
महाभारत र पाण्डवजस्ता पौराणिक पात्रसँग सम्बन्धित कथामा अभिनय गर्न पाउँदा खुसी लागेको पनि जीतुले बताए। फिल्मको पोस्टर र ट्रेलरमा कलाकारलाई पाण्डवको स्वरूपमा प्रस्तुत गरिए पनि फिल्मको बाँकी कथा सामान्य परिवेशमा अघि बढ्ने उनले जानकारी दिए।
फिल्ममा आफ्नो जोडीका रूपमा अभिनेत्री दीपाश्री निरौला रहेकी छन्। यसअघि पनि उनीसँग काम गरिसकेका जीतुका लागि यसपटक भीमसेनकी श्रीमतीको भूमिकामा उनलाई प्रस्तुत गरिएको विषय नयाँ अनुभव बनेको छ।
त्यस्तै, अभिनेता हरिवंश आचार्यसँग पहिलोपटक पर्दा साझा गर्न पाउँदा पनि आफूलाई विशेष लागेको जीतुले बताए। युधिष्ठिरले भीमलाई सम्झाउने दृश्यमा काम गर्नु उनका लागि फरक अनुभव बनेको छ।
धेरै कलाकारको सहभागिता रहेको फिल्ममा आफूलाई कसरी प्रस्तुत गर्ने र दर्शकले आफ्नो चरित्रलाई कसरी सम्झिने भन्ने विषयमा विशेष ध्यान दिएको उनले बताए।
दर्शकले आफूबाट अपेक्षा गर्ने हास्य पक्ष पनि फिल्ममा समेटिएको जीतुको भनाइ छ। यद्यपि, फिल्म एउटै पात्रको कथा नभई पाँच दाजुभाइको कथामा आधारित रहेकाले कमेडीलाई कथाको आवश्यकता र दृश्यअनुसार प्रस्तुत गरिएको उनले स्पष्ट पारे।
