मौसम विज्ञान विभागका अनुसार कात्तिक १९ देखि २३ गतेसम्म मौसममा उल्लेखनीय परिवर्तन हुने देखिएको छैन। यस अवधिमा देशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि त्यसले जनजीवनमा ठूलो प्रभाव पार्ने सम्भावना छैन।
विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार तराई–मधेश, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा हल्का हुस्सु र कुहिरो लाग्न सक्नेछ। अन्य अधिकांश स्थानमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
यस वर्ष कात्तिक २२ गते काग तिहारसँगै यमपञ्चक सुरु हुँदैछ भने कात्तिक २५ गते भाइटीका मनाइँदैछ। तिहारका मुख्य दिनहरूमा मौसम अनुकूल रहने संकेत देखिएको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि आगामी एक सातासम्म ठूलो वर्षा हुने सम्भावना नरहेको जानकारी दिएका छन्। उनका अनुसार तिहारको समयमा लगातार वा व्यापक वर्षा हुने अवस्था देखिएको छैन।
मौसम अनुकूल रहने पूर्वानुमानले तिहार मनाउने सर्वसाधारणसँगै धानबाली भित्र्याउने तयारीमा रहेका किसानलाई समेत सहज हुने अपेक्षा गरिएको छ।
यद्यपि, लामो समयसम्म पानी नपर्ने र घमाइलो मौसम कायम रहने अवस्थाले वायु प्रदूषण बढ्न सक्ने जोखिम रहेको डा. पोखरेलले औँल्याएका छन्।
जाडोयाममा वर्षा कम हुनु, हावाको बहाव कमजोर रहनु तथा उद्योग, कलकारखाना, सवारीसाधन, कृषि गतिविधि र पूर्वाधार निर्माणबाट निस्कने प्रदूषक तत्त्वका कारण वायु प्रदूषण बढ्ने गर्छ। त्यसैले मौसम सफा रहे पनि प्रदूषणको अवस्थाप्रति सचेत रहनुपर्ने देखिन्छ।
