यसअघि भोटेकोशीमा आएको बाढीले रसुवागढी नाका क्षतिग्रस्त बनाएपछि कोरला नाका चीनसँगको व्यापारका लागि वैकल्पिक मार्ग बनेको थियो। तर असोज ११ गते कालीगण्डकीमा आएको बाढीले बेनी–कोरला सडकको म्याग्दी तथा अन्य विभिन्न स्थानमा ठूलो क्षति पुर्याएपछि यो मार्ग पनि अवरुद्ध भएको थियो। मर्मतपछि असोज अन्तिमतिर सडक पुनः सञ्चालनमा आएको थियो।
त्यसपछि कात्तिक १२ गतेदेखि नेपाल प्रवेश गरेको अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात भयो। कोरला नाकाबाट करिब १४ किलोमिटर वर रहेको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङसम्म बाक्लो हिउँ जम्दा सवारी आवागमन ठप्प भएको हो।
हिमपातपछि न्हेचुङदेखि कोरला नाकाको दशगजा क्षेत्रसम्म सडकमा जमेको हिउँ हटाउने काम भइरहेको छ। लोमान्थाङ गाउँपालिकाको अगुवाइमा विभिन्न सुरक्षा निकायको सहयोग लिएर सडक खुलाउने प्रयास जारी रहे पनि आवागमन अझै पूर्ण रूपमा सहज हुन सकेको छैन।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार चार दिनदेखि निरन्तर हिउँ पन्छाउने काम भइरहेको छ। हिउँ हटाएर सवारीसाधन पठाएपछि पुनः जम्ने समस्याले काममा कठिनाइ भइरहेको उनले बताए। उनका अनुसार रसुवागढी नाका अवरुद्ध भएपछि विकल्पका रूपमा प्रयोग गरिएको कोरला नाका पनि कहिले बाढीपहिरो त कहिले हिमपातका कारण प्रभावित हुँदै आएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले कालीगण्डकीको बाढीले क्षति पुर्याएको सडक मर्मतपछि बेनीदेखि कोरलासम्मको यातायात सञ्चालनमा आए पनि अहिले नाकामा हिउँ र अत्यधिक चिसो मुख्य चुनौती बनेको बताए।
उनका अनुसार हिउँ पन्छाएपछि सडकमा पानी जमेर पुनः बरफ बन्ने समस्या छ। नाकाको आवागमन पूर्ण रूपमा नियमित बनाउन गाउँपालिका, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली दैनिक रूपमा खटिरहेको उनले जानकारी दिए।
हिउँ हटाउन चीनले उपलब्ध गरायो बुल्डोजर
कोरला नाकामा जमेको हिउँ हटाउन चीनको झोङ्बा काउन्टी जनसरकारले बुल्डोजर उपलब्ध गराएको छ। लोमान्थाङ गाउँपालिकाको आग्रहपछि चिनियाँ पक्षले उक्त उपकरण सहयोग गरेको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए।
उनका अनुसार गाउँपालिकाको आफ्नै डोजरसँगै चीनबाट प्राप्त बुल्डोजर प्रयोग गरेर सडकमा जमेको हिउँ हटाउने काम भइरहेको छ। पछिल्लो समय चिसो पनि बढ्दै गएकाले थप समस्या आउन सक्ने भए पनि सडक सञ्चालन सहज बनाउने प्रयास जारी रहेको उनले बताए।
नाकामा १ हजार ७ सय गाडी रोकिए
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्मका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार अहिले कोरला नाकाको नेपालतर्फ १ हजार ७ सय सवारीसाधन जाँचपास हुन बाँकी अवस्थामा छन्।
उनका अनुसार आर्थिक वर्ष २०८३/८४ मा हालसम्म कोरला नाका हुँदै ७ हजार १ सय विद्युतीय गाडी नेपाल भित्रिएका छन्। कालीगण्डकीको बाढीले क्षति पुर्याएको सडक मर्मत गरी नाका पुनः सञ्चालनमा आएपछि मात्रै ४ हजार ४३७ वटा गाडी आयात भएका छन्।
गुल्म प्रमुख दीपक कोइरालाले आगामी दिनमा अत्यधिक चिसोका कारण सवारी आवागमन थप प्रभावित हुन सक्ने बताए। विशेषगरी न्यून तापक्रममा सवारीसाधन स्टार्ट गर्न समस्या देखिने उनको भनाइ छ।
कोरला नाकाबाट मुख्य रूपमा विद्युतीय गाडी आयात हुने गरेका छन्। त्यसबाहेक लत्ताकपडालगायत चीनमा उत्पादित विभिन्न सामग्री पनि कन्टेनरमार्फत नेपाल भित्रिने गरेका छन्। हिमपात र चिसोका कारण मालवाहक कन्टेनर तथा सवारीसाधनको आवागमनमा समेत कठिनाइ भइरहेको छ।
प्रहरी निरीक्षक पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष कोरला नाकाबाट आयात हुने सवारीसाधनको संख्या बढेको छ। रसुवागढी नाका बाढीले क्षतिग्रस्त बनाएपछि कोरला नाकाबाट हुने व्यापारिक गतिविधि थप विस्तार भएको उनले बताए।
चिसोले भन्सार र अध्यागमन सेवा पनि प्रभावित
कोरला क्षेत्रमा अर्नब चक्रवातको प्रभावले करिब दुई फिटसम्म हिउँ परेको थियो। अत्यधिक चिसोका कारण नाकामा रहेका सरकारी कार्यालयको कामकाजसमेत प्रभावित हुने गरेको छ। गाउँपालिका अध्यक्ष गुरुङका अनुसार यहाँको तापक्रम माइनस ५ देखि माइनस ११ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।
चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकास हुँदै गएको कोरलामा व्यापारिक गतिविधि बढे पनि आवश्यक सरकारी पूर्वाधार र सुविधाको अभाव रहेको स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको गुनासो छ।
रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण प्रभावित भएपछि कोरलाबाट हुने व्यापार बढेको छ। अर्बौं रुपैयाँको कारोबार र राजस्व संकलनको सम्भावना रहेको यस नाकामा भने नेपालतर्फ आवश्यक स्थायी संरचना निर्माण हुन सकेको छैन।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ स्थित नेपाल–चीन सीमामा अध्यागमन कार्यालय सञ्चालनका लागि १० कोठे प्रिफ्याब भवन निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकारले निर्माण गरेको उक्त भवनको २०८१ कात्तिक १४ गते तत्कालीन गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका थिए। भवनसँगै विद्युत् र सञ्चार सुविधा विस्तारको काम पनि गरिएको थियो।
तर उद्घाटनपछि लामो समयसम्म अध्यागमन कार्यालय नियमित सञ्चालनमा आउन सकेन। २०८२ वैशाखसम्म कार्यालय बन्द अवस्थामा रहेपछि कात्तिक २१ गतेदेखि पुनः सेवा सञ्चालन गरिएको थियो। यद्यपि सरकारी बेवास्ताका कारण कार्यालयको सेवा नियमित हुन नसकेको गुनासो छ।
सीमाक्षेत्रमा अध्यागमन भवन बने पनि भन्सार, क्वारेन्टाइनलगायतका अन्य सरकारी कार्यालयका स्थायी संरचना निर्माण हुन सकेका छैनन्। मुस्ताङ भन्सार कार्यालय सीमाबाट करिब १३ किलोमिटर तल लोमान्थाङ–४ नेचुङमा सञ्चालन भइरहेको छ। त्यहाँ रहेका पाँचवटा पुराना भवनबाट भन्सारसम्बन्धी काम हुँदै आएको छ।
कार्यालयमा कर्मचारी बसोबास र सेवा सञ्चालनका लागि पर्याप्त पूर्वाधार छैन। भन्सार कार्यालयका एक कर्मचारीका अनुसार अत्यधिक चिसो र हिमपातका कारण काम गर्न कठिनाइ हुने गरेको छ। कार्यालय प्रमुखसमेत पद रिक्त रहेको र नयाँ कर्मचारी खटाउने भनिए पनि कहिले आउने भन्ने टुंगो नभएको उनले बताए।
सीमाक्षेत्रमा निर्माण गरिएको वनस्पति क्वारेन्टाइन भवनको प्रयोगसमेत उद्देश्यअनुसार हुन सकेको छैन। क्वारेन्टाइन सञ्चालनका लागि बनाइएको भवनमा अहिले प्रहरी बस्दै आएका छन्।
कोरला नाकामा एकीकृत भन्सार र सुख्खा बन्दरगाह निर्माण गर्ने सरकारी योजना लामो समयदेखि चर्चामा रहे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन। उक्त प्रयोजनका लागि सीमाक्षेत्रमा करिब एक हजार रोपनी जग्गा प्राप्त गरिएको विवरण सार्वजनिक भए पनि स्थायी भौतिक संरचना निर्माणको काम अघि बढ्न सकेको छैन।
व्यापारिक महत्त्व बढ्दै गएको कोरला नाकामा प्राकृतिक विपत्तिसँगै पूर्वाधार, जनशक्ति र सरकारी सेवाको अभाव पनि प्रमुख चुनौतीका रूपमा देखिएको छ।
