राष्ट्र बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट सर्वसाधारण तथा संस्थागत खरिदकर्तालाई सुन र चाँदीका सिक्का उपलब्ध गराउन थालेको हो।
धनतेरसका अवसरमा सुनका असर्फीको माग बढी हुने भएकाले उपभोक्तालाई सहज रूपमा खरिद गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार सर्वसाधारणले प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राम तौलका एक–एक थान सुनका असर्फी खरिद गर्न सक्नेछन्।
असर्फीको मूल्य निर्धारण गर्दा प्रचलित बजारमा रहेको सुनको मूल्यमा निर्माण खर्च जोडिनेछ। व्यक्तिगत खरिदकर्ताका लागि सुनको बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ थप गरी दैनिक बिक्री मूल्य कायम गरिने राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, संस्थागत खरिदकर्ताका लागि भने बजार मूल्यमा प्रतिग्राम ३०० रुपैयाँ थप गरेर मूल्य निर्धारण गरिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले व्यक्ति तथा संस्थालाई दुवैलाई असर्फी खरिद गर्न सक्ने सुविधा दिएको छ।
यसैबीच, धनतेरसका लागि सुन तथा चाँदीका सिक्का खरिद गर्न बबरमहलस्थित टक्सार विभागमा सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ। बिहानैदेखि उपभोक्ता लामो समय लाइनमा बसेर आफूलाई आवश्यक सुनका असर्फी तथा चाँदीका सिक्का खरिद गरिरहेका छन्।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार धनतेरसका दिन सुनचाँदीका गरगहना, धातु तथा सिक्का खरिद गर्नु शुभ मानिन्छ। यसलाई धन, समृद्धि र सुख–सौभाग्यको प्रतीकका रूपमा लिने परम्परा रहिआएको छ।
