३५ वटा एकाइको छुट्टाछुट्टै लेखा परीक्षण गरिने, वित्तीय पारदर्शिताका लागि तीन चरणमा परीक्षण हुँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको ५८.५५ प्रतिशत खर्च गरेको छ । महानगरपालिकाको अन्तिम लेखा परीक्षणका लागि आयोजित प्रवेश बैठकमा वित्त विभाग प्रमुख विकास चित्रकारले बजेट खर्चको विवरण प्रस्तुत गरेका हुन् ।
उनका अनुसार महानगरपालिकाका विभागहरूको औसत वित्तीय प्रगति ३८.३४ प्रतिशत रहेको छ भने वडाहरूको खर्च प्रगति ६३.९१ प्रतिशत पुगेको छ । सञ्चित कोषबाट भएको खर्चलाई आधार मानेर अन्तिम लेखा परीक्षण गरिने उनले जानकारी दिए ।
महालेखा परीक्षकको कार्यालयका अधिकारी र महानगरपालिकाका प्रतिनिधिबीच कात्तिक १८ गते अन्तिम लेखा परीक्षणसम्बन्धी प्रवेश बैठक भएको थियो । बैठकमा महानगरपालिकाको केन्द्रीय कार्यालय, ३२ वटा वडा, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र जग्गा एकीकरण आयोजनासहित ३५ वटा एकाइको छुट्टाछुट्टै परीक्षण गरिने जानकारी दिइएको थियो । ती सबै एकाइको परीक्षणपछि प्रारम्भिक प्रतिवेदन तयार पारिनेछ ।
महानगरपालिकाले वित्तीय अनुशासन र सुशासन कायम गर्ने उद्देश्यले तीन चरणमा लेखा परीक्षण गर्दै आएको छ । यसअन्तर्गत पूर्वलेखा परीक्षण, आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरिन्छ ।
बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले लेखा परीक्षणका क्रममा आवश्यक पर्ने कागजात, विवरण र प्रमाण समयमै उपलब्ध गराउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइन् । उनले प्रतिवेदन तयार हुनुअघि नै आवश्यक प्रक्रिया पूरा गरी खर्चको औचित्य र विधि प्रमाणित हुने आधार तयार राख्न पनि आग्रह गरेकी थिइन् ।
#KathmanduMetropolitan #AuditReport #FinancialProgress #LocalGovernment #NepalNews #DreamNewsNetwork
