काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रहरीले पक्राउ गर्ने चर्चा चलिरहेका बेला केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भने यससम्बन्धी कुनै आदेश वा निर्देशन प्राप्त नभएको जनाएको छ।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले आफू र आफ्नो कार्यालयमा थापालाई पक्राउ गर्ने वा निगरानी राख्ने विषयमा कुनै निर्देशन नआएको बताएका छन्। नेपाल प्रेससँगको कुराकानीमा उनले अन्य निकायमा कुनै सूचना वा गतिविधि भएको भए त्यसबारे आफूलाई जानकारी नहुने स्पष्ट पारे।
यता, थापाको सचिवालयले भने पछिल्ला दुई दिनदेखि सादा पोसाकमा रहेका अपरिचित व्यक्तिहरूले उनको गतिविधिमाथि निगरानी गरिरहेको दाबी गरेको छ। सचिवालयका एक सदस्यका अनुसार केही अपरिचित व्यक्ति मोटरसाइकलमा थापाको पछिपछि लाग्ने गरेका छन्। राइड सेयरिङ सेवाका मोटरसाइकलजस्ता देखिने सवारीसाधन उनको आसपासमा घुम्ने गरेको ती सदस्यको भनाइ छ।
त्यस्तै, सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पनि सादा पोसाकका अपरिचित व्यक्तिहरूको आवतजावत बढेको सचिवालयको दाबी छ।
प्रहरी स्रोतलाई उद्धृत गर्दै सार्वजनिक विवरणअनुसार बुधबार पदमुक्त गरिएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदमा रहँदै ‘माथिको आदेश’ भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई थापामाथि निगरानी राख्न निर्देशन दिएका थिए।
तर, बिहीबार कार्यालय समय सुरु भएपछि कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले सहकर्मीहरूलाई दिएको ब्रिफिङमा त्यस्तो कुनै निर्देशन उल्लेख नगरेको बताइएको छ। बुधबारको ब्रिफिङमा पनि यस विषयमा कुनै निर्देशन नदिइएको प्रहरी स्रोतको भनाइ छ।
