काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापाले बिहीबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
थापाले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पद तथा गोपनीयताको शपथ लिएका थिए। त्यसको भोलिपल्ट बिहीबार उनले प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।
बीमा क्षेत्रको नियामक निकायको नेतृत्वमा आएका थापासँग बैंकिङ क्षेत्रमा करिब तीन दशक काम गरेको अनुभव छ। यसअघि उनी नेपाल राष्ट्र बैंकमा १३औँ वरीयताका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। पछिल्लो समय उनले राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए।
आगामी चैतमा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने तयारीमा रहेका थापालाई सरकारले अवकाशअघि नै बीमा प्राधिकरणको नेतृत्वको जिम्मेवारी दिएको हो।
थापाले वित्तीय संस्था तथा बैंकको सुपरिवेक्षण, नियमन, जोखिम व्यवस्थापन र संस्थागत सुशासनका क्षेत्रमा अनुभव हासिल गरेका छन्। उनले यसअघि राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक तथा लगानी समितिको संयोजक भएर काम गरेका थिए।
त्यसैगरी, निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति सदस्य र लगानी समिति संयोजकको जिम्मेवारीसमेत उनले सम्हालिसकेका छन्।
