काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफू र पार्टी सभापतिलाई पक्राउ गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। साइबर ब्युरोले उपस्थित हुन बोलाएपछि काठमाडौं आएका उनले अब पार्टीको बैठकमा छलफल र परामर्श गरेर मात्रै थप कदम चाल्ने बताएका छन्।
सरकारले आफूहरूलाई त्रास देखाएर दबाउन खोजेको आरोप लगाउँदै शिवाकोटीले कांग्रेसको इतिहास र राजनीतिक संघर्षलाई नबुझेका शक्तिले पार्टीलाई कमजोर ठान्नु गलत हुने बताए।
उनले कांग्रेसले राणा शासन, पञ्चायती व्यवस्था र राजाको प्रत्यक्ष शासनविरुद्ध संघर्ष गरेको स्मरण गराउँदै आफूहरू त्यही राजनीतिक इतिहासबाट आएका कार्यकर्ता भएको उल्लेख गरे।
आफू र पार्टी सभापतिलाई पक्राउ गर्ने दुस्साहस प्रधानमन्त्री तथा उनको टोलीबाट भए त्यसको परिणाम सरकारले भोग्नुपर्ने उनको चेतावनी छ।
‘आगोमा हात हालेर अफवाह फैलाउँदै हामीलाई सजिलै नियन्त्रणमा लिन सकिन्छ भन्ने भ्रम कसैले पालेको छ भने त्यसबाट सरकार बाहिर निस्कनुपर्छ,’ उनले भने, ‘१५औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौती दिने काम सरकारका लागि पनि घातक हुन सक्छ।’
धार्मिक यात्रामा रहेका बेला साइबर ब्युरोले आफूलाई खोजिरहेको जानकारी पाएको उनले बताए। त्यसपछि प्रहरीलाई आफूलाई खोजिरहन नपर्ने र आफैँ उपस्थित हुने भन्दै बिहानै सन्देश लेखेको उनको भनाइ छ।
काठमाडौं आएपछि पार्टी कार्यालय जाने र त्यहाँ हुने बैठकमा सहभागी हुने उनले जानकारी दिए। बैठकपछि थप परामर्श गरेर अगाडि बढ्ने उनको भनाइ छ।
यसैबीच, आधिकारिकता विवादमा १८ करोड रुपैयाँको विषय जोडेर प्रधानमन्त्री र प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनले आफूहरूलाई निशाना बनाउन योजनाबद्ध रूपमा नाटक रचेको शिवाकोटीले आरोप लगाए।
उनले इनम सापकोटालाई बिचौलियाको संज्ञा दिँदै उनी बालेनलाई निर्वाचन जिताउने रणनीति निर्माण र अनुसन्धानमा संलग्न रहेको दाबीसमेत गरे।
#AjayBabuShivakoti #NepaliCongress #GaganThapa #NepalPolitics #CyberBureau #DreamNewsNetwork
