काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले नेपालको पूर्वाधार विकासको मूल्याङ्कन सडक निर्माणको लम्बाइका आधारमा नभई एक ठाउँबाट अर्को ठाउँ पुग्न लाग्ने समयका आधारमा गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले देशका प्रमुख सहर तथा पूर्व–पश्चिमका भूभागलाई निश्चित समयभित्र जोड्न सके मात्रै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएका छन्।
पाण्डेले काठमाडौँबाट तीन घण्टामा चितवन, साढे तीन घण्टामा पोखरा, ६ घण्टामा काँकडभिट्टा र नौ घण्टामा कञ्चनपुर पुग्न सक्ने पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए। त्यस्तै, पूर्वदेखि पश्चिमसम्मको यात्रा १२ घण्टामा पूरा गर्न सक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ छ।
उनले आफ्नो अवधारणालाई ‘३, ६, ९, १२ बराबर १००’ नाम दिएका छन्। देशका विभिन्न भूभागबीचको यात्रा समय घटाउन सके मात्रै १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पूरा गर्न सकिने उनले बताए।
पाण्डेका अनुसार सडक र पुल निर्माण गर्नु मात्रै पूर्वाधार विकास होइन। त्यसबाट नागरिकको आवागमन, व्यापार व्यवसाय र आर्थिक गतिविधिमा कति सहजता आयो भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ।
उनले भने, ‘आज म छोटकरीमा एउटा कुरा राख्न चाहन्छु– ३, ६, ९, १२ बराबर १००। यसको अर्थ काठमाडौँबाट तीन घण्टामा चितवन, साढे तीन घण्टामा पोखरा, ६ घण्टामा काँकडभिट्टा र नौ घण्टामा कञ्चनपुर पुग्न सक्ने पूर्वाधार निर्माण गर्न सक्यौँ भने मेचीदेखि महाकालीसम्मको दूरी १२ घण्टामा समेट्न सक्छौँ। त्यसपछि मात्रै हामीले परिकल्पना गरेको १०० अर्ब डलरको अर्थतन्त्र हासिल गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ। पूर्वाधार विकासको मापन कति किलोमिटर सडक कालोपत्रे भयो भन्नेमा मात्र सीमित हुनुहुँदैन। देशका विभिन्न भूभागबीचको यात्रा समय कति घटाउन सक्यौँ भन्ने आधारमा पनि यसको मूल्याङ्कन हुनुपर्छ। यसले नै आर्थिक समृद्धिको ढोका खोल्छ भन्ने नेपाल निर्माण व्यवसायी महासंघको ठम्याइ छ।’
पूर्वाधार निर्माणको प्राथमिकता यात्रा समय घटाउने, बजारसम्मको पहुँच विस्तार गर्ने र देशका विभिन्न क्षेत्रबीच आर्थिक सम्बन्ध बलियो बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा पनि पाण्डेले जोड दिए।
१०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यलाई आर्थिक सूचकमा मात्र सीमित नराखी देशभित्रको भौगोलिक दूरी र आवागमनमा लाग्ने समय घटाउने विकाससँग जोड्नुपर्ने उनको भनाइ छ।
