पटका पड्काउँदा निस्कने चर्को आवाज, धुवाँ र रासायनिक पदार्थले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई बढी प्रभावित पार्ने गरेको छ।
१. बालबालिका र ज्येष्ठ नागरिकमा मानसिक तनाव
पटाकाको ठूलो आवाजले साना बालबालिका तथा शिशुहरू डराउने, रुने र निदाउन नसक्ने समस्या देखिन सक्छ। ज्येष्ठ नागरिकमा पनि अचानक आउने चर्को आवाजले बेचैनी, तनाव र निद्रामा बाधा पुर्याउन सक्छ।
विशेषगरी मुटुसम्बन्धी समस्या भएका तथा आवाजप्रति संवेदनशील व्यक्तिलाई पटाकाको आवाजले थप असहज बनाउन सक्छ।
२. बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई थप समस्या
अस्पतालमा उपचार गराइरहेका बिरामी, शल्यक्रियापछि आराम गरिरहेका व्यक्ति तथा मानसिक तनावबाट गुज्रिरहेका मानिस पटाकाको आवाजबाट प्रभावित हुन सक्छन्।
अटिजम भएका कतिपय व्यक्तिमा चर्को आवाजप्रति अत्यधिक संवेदनशीलता हुने भएकाले पटाकाको आवाजले उनीहरूलाई गम्भीर असहजता र मानसिक तनाव दिन सक्छ।
३. पशुपक्षीमा डर र दुर्घटनाको जोखिम
पटाकाको आवाजले कुकुर, बिरालो, गाईवस्तु तथा चराचुरुङ्गीसमेत प्रभावित हुन्छन्। अचानक ठूलो आवाज आउँदा उनीहरू डराउने, काँप्ने, लुक्ने वा सुरक्षित स्थान खोज्दै भाग्ने गर्छन्।
डरका कारण घरबाट भागेका कुकुर तथा बिरालो सवारीसाधनको ठक्करमा पर्न सक्छन्। कतिपय हराउने र घाइते हुने जोखिम पनि रहन्छ। चर्को आवाजका कारण चराचुरुङ्गीले आफ्नो बासस्थान छाड्नुपर्ने अवस्था आउन सक्छ।
४. आगलागी र शारीरिक चोटपटकको खतरा
पटका प्रयोग गर्दा हात, अनुहार र आँखामा गम्भीर चोट लाग्न सक्छ। पड्काउने क्रममा हातमै विस्फोट हुने जोखिम पनि हुन्छ। विशेषगरी बालबालिकाले खेलौना सम्झेर पटका चलाउँदा दुर्घटना हुन सक्छ।
असावधानीपूर्वक पटका पड्काउँदा घर, पसल, सवारीसाधन तथा अन्य भौतिक संरचनामा आगलागी हुन सक्ने खतरा रहन्छ। सामान्य लापरबाहीले समेत ठूलो धनजनको क्षति निम्त्याउन सक्छ।
५. वायु प्रदूषण र श्वासप्रश्वाससम्बन्धी समस्या
पटका पड्काउँदा निस्कने धुवाँ, धुलो तथा विभिन्न रासायनिक पदार्थले वायु प्रदूषण बढाउँछन्। यसको प्रत्यक्ष असर दम, एलर्जी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा पर्न सक्छ।
पटाकाको धुवाँका कारण आँखा पोल्ने, घाँटी खसखसाउने, खोकी लाग्ने तथा सास फेर्न कठिन हुने समस्या देखिन सक्छ। आतसबाजीबाट फैलिएको प्रदूषणले केही समयसम्म वातावरणको वायु गुणस्तरसमेत प्रभावित पार्न सक्छ।
६. ध्वनि प्रदूषण र श्रवण क्षमतामा असर
पटाकाबाट उत्पन्न हुने अत्यधिक चर्को आवाजले ध्वनि प्रदूषण बढाउनुका साथै मानिसको श्रवण क्षमतामा समेत असर पुर्याउन सक्छ। ठूलो आवाजको नजिक रहँदा कानमा समस्या उत्पन्न हुने जोखिम हुन्छ।
यसले मानसिक तनाव, डर, बेचैनी र निद्रामा अवरोधसमेत सिर्जना गर्न सक्छ। आवाजप्रति संवेदनशील व्यक्तिका लागि यस्तो वातावरण झनै कष्टकर बन्न सक्छ।
तिहार खुसी, उमंग र सद्भाव साटासाट गर्ने पर्व हो। तर आफ्नो मनोरञ्जनका कारण अरूलाई डर, पीडा र स्वास्थ्य जोखिममा पार्नु उचित हुँदैन। बालबालिका, बिरामी, ज्येष्ठ नागरिक तथा पशुपक्षीको अवस्थालाई समेत ध्यानमा राखेर चाडपर्व मनाउनु आवश्यक छ।
केही क्षणको रमाइलोभन्दा सबैको स्वास्थ्य, सुरक्षा र सहजतालाई प्राथमिकता दिन सके तिहारको खुसी अझ अर्थपूर्ण बन्न सक्छ
