करिब १२ वर्षदेखि फिल्म निर्माणमा सक्रिय गिरीले यसअघि लगातार व्यावसायिक सफलता हासिल गर्दै आएका थिए। उनको पहिलो फिल्म ‘छ एकान छ’ सफल भएपछि नेपाली कमेडी फिल्म क्षेत्रमा उनको प्रभाव बढ्दै गएको थियो।
त्यसपछि ‘छक्का पञ्जा’ शृंखलादेखि ‘छ माया छपक्कै’सम्मका फिल्मले उनलाई दर्शकमाझ स्थापित गराए। ‘छक्का पञ्जा’को लोकप्रियताका कारण त्यसका पाँचवटासम्म शृंखला निर्माण भए।
यसपटक दसैँको अवसर पारेर उनी ‘छ माया छपक्कै–२’ लिएर दर्शकमाझ आएका थिए। तर, फिल्मले अपेक्षा गरेअनुसार व्यावसायिक सफलता हासिल गर्न सकेन। त्यसपछि गिरीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले फिल्मको असफलता स्वीकार गरेको बताएका थिए।
उनको उक्त पोस्टमा विभिन्न प्रतिक्रिया आएका थिए। तीमध्ये दर्शक कुमार बेनको टिप्पणी पनि चर्चामा रह्यो। उनले दसैँको समयमा प्रदर्शनमा आएका फिल्महरू हेरेका थिए। ‘छक्का पञ्जा’समेत हेरेका बेनले गिरीको पोस्टमा सान्त्वना व्यक्त गरेका थिए।
त्यसपछि गिरीले आफ्नै पोस्टमा अर्को टिप्पणी थप्दै दर्शकले दिएको माया, शुभकामना र सान्त्वनाप्रति आभार व्यक्त गरे।
उनले पछिल्लो समय अध्यात्मसँग जोडिएपछि जीवनमा आउने सफलता र असफलताले आफूलाई पहिलेको जस्तो प्रभावित नगर्ने उल्लेख गरेका छन्। उनका अनुसार परिणामभन्दा पनि आफूले गरिरहेको कामलाई आनन्दपूर्वक निरन्तरता दिनु महत्त्वपूर्ण छ।
गिरीले लेखेका छन्, ‘तपाईंहरूले दिनुभएको माया, शब्द, आशीर्वाद र सान्त्वनाका लागि नमन छ। पछिल्लो समय अध्यात्मसँग जोडिएपछि जीवनमा प्राप्त हुने सफलता वा असफलताले मलाई खासै छुँदैन। आनन्दपूर्वक काम गर्न पाए पुग्छ। त्यसै पनि परिणाम कहाँ हाम्रो हातमा हुन्छ र?’
उनले दर्शकको माया भने आफ्नो लागि अमूल्य रहेको उल्लेख गर्दै सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
गिरीको प्रतिक्रियाले फिल्मको व्यावसायिक परिणामलाई मात्र सफलताको मापदण्ड नमान्ने र जीवनमा आउने उतारचढावलाई सहज रूपमा लिनुपर्ने उनको पछिल्लो सोचलाई प्रतिबिम्बित गरेको छ।
