संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरीको विवरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दविरुद्ध पाँच, चन्द्रबहादुर सारुविरुद्ध छ, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेका छन्।
चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध १३ जना व्यक्तिले उजुरी दिएको सभापति श्रेष्ठले जानकारी दिए। तीमध्ये पाँच जनाले चारै जना न्यायाधीशविरुद्ध उजुरी दर्ता गराएका छन्।
समितिको बैठकले उजुरीकर्तालाई शुक्रबार बोलाएर उनीहरूले लगाएका आरोप तथा उजुरीको औचित्यबारे छलफल गर्ने निर्णय गरेको छ। त्यसपछि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ गर्ने कार्यतालिका पनि पारित गरिएको छ।
निर्धारित कार्यतालिकाअनुसार कात्तिक २० गते शुक्रबार बिहान उजुरीकर्तासँग छलफल हुनेछ। त्यसपछि डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारुसँग सुनुवाइ गर्ने तयारी छ।
त्यस्तै, कात्तिक २१ गते शनिबार जनक पाण्डे र गोकर्ण डाँगीसँग सुनुवाइ गरी आवश्यक निर्णय लिने समितिको योजना छ।
संसदीय सुनुवाइका लागि निर्धारित ४५ दिनको समयसीमा सकिन लागेको र दसैँ तथा तिहारको बिदाका कारण प्रक्रिया प्रभावित हुन सक्ने भएकाले तिहारअघि नै सुनुवाइ सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका बनाइएको समितिले जनाएको छ।
संसदीय सुनुवाइ समिति कार्यविधि, २०८३ को दफा १५ अनुसार सचिवालयले प्रस्ताव गरेको कार्यतालिकालाई आवश्यक परिमार्जनसहित समितिले अनुमोदन गरेको सभापति श्रेष्ठले बताए।
समितिको अर्को बैठक शुक्रबार बिहान ९ः३० बजे बस्ने गरी तय गरिएको छ।
