सरकारले बहुमत पाएपछि पनि प्रतिबद्धताअनुसार काम नगरेको आरोप, भ्रष्टाचारका फाइल खोल्न ढिलाइ गरेको भन्दै प्रश्न
संखुवासभा । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ राजनीतिक शक्तिबाट पनि देशले अपेक्षित परिणाम पाउन नसकेको टिप्पणी गरेका छन्।
संखुवासभाको चिचिला गाउँपालिकामा आयोजित पार्टीको ‘हातेमालो’ कार्यक्रममा बोल्दै किरातीले पुराना दलमाथि भ्रष्टाचारको आरोप लाग्ने गरेको तर नयाँ भनिएका शक्तिबाट देशकै हित जोखिममा पर्न सक्ने चिन्ता बढेको बताए।
‘पहिलेका नेताले घुस खाए भन्ने सुनिन्थ्यो, अहिले नयाँ भनिएकाले देश नै सिध्याउने हुन् कि भन्ने चिन्ता बढ्न थालेको छ,’ उनले भने।
सरकारले बहुमत प्राप्त गरेपछि परिवर्तनको अनुभूति गराउने प्रतिबद्धता जनाए पनि त्यसअनुसार काम गर्न नसकेको उनको आरोप छ। चुनावअघि भ्रष्टाचारसँग सम्बन्धित तीनवटा फाइल खोल्नेबित्तिकै दोषीहरू जेल जाने र देशको अवस्था सुधारिने दाबी गरिएको स्मरण गराउँदै उनले ती फाइल अहिलेसम्म किन सार्वजनिक भएनन् भन्ने प्रश्न गरे।
‘फाइल किन खोलिएनन्, कसले रोक्यो र कहिलेसम्म जनताले पर्खिनुपर्ने हो?’ भन्दै किरातीले सरकारसँग जवाफ मागे।
जनताले ठूलो समर्थन दिएपछि पनि सरकारले समयमै जिम्मेवारी पूरा गर्न नसके त्यसको राजनीतिक परिणाम गम्भीर हुन सक्ने उनले चेतावनी दिए। उनका अनुसार मुलुकमा सर्वसाधारणको जीवन कठिन बन्दै गएको, लगानीकर्तामा असुरक्षा बढेको र कर्मचारीतन्त्रसमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्था छ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालको विश्वास कमजोर हुँदै गएको र यसले भूराजनीतिक चुनौती थप जटिल बनाउन सक्ने भन्दै उनले सरकारलाई यी विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।
श्रम संस्कृति पार्टीको ‘हातेमालो’ अभियानअन्तर्गत आयोजित कार्यक्रममा किरातीले अन्य राजनीतिक दल छाडेर आएका दर्जनौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए।
