लगानी र पूर्वाधार विकासलाई गति दिन ५९ वटा ऐनका करिब ५०० प्रावधान संशोधन गर्ने तयारी
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्यसहित सरकार अघि बढेको बताएका छन्। सोही अवधिमा प्रतिव्यक्ति आय ३ हजारदेखि ३ हजार ३०० डलर पुर्याएर नेपाललाई मध्यम आय भएको मुलुकको स्तरमा उकास्ने सरकारको योजना रहेको उनले जानकारी दिए।
नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले सुशासन, आर्थिक सुधार र पूर्वाधार विकासलाई सरकारको मुख्य प्राथमिकता बनाइएको बताए। उनका अनुसार सरकारले सुशासनमा प्रभावकारी परिणाम, आर्थिक क्षेत्रमा व्यापक सुधार र पूर्वाधार निर्माणमा तीव्रता दिने रणनीति लिएको छ।
आर्थिक गतिविधि विस्तार, लगानीमैत्री वातावरण निर्माण र पूर्वाधार विकासका अवरोध हटाउन सरकारले ५९ वटा ऐनका करिब ५०० वटा प्रावधान संशोधन गर्ने तयारी गरेको पनि उनले बताए।
वाग्लेले विभिन्न कानुनी व्यवस्था एकैपटक संशोधन गर्ने उद्देश्यले ‘अम्निबस लेजिस्लेसन’ अघि बढाइएको जानकारी दिए। उनका अनुसार यो अध्यादेश वा एकीकृत कानुनी व्यवस्थामार्फत कार्यान्वयनमा ल्याइनेछ। प्रधानमन्त्रीको प्रत्यक्ष चासो र मन्त्रालयहरूबीचको समन्वयका कारण सुधारका कार्यक्रम अघि बढाउन सहज हुने उनको विश्वास छ।
सरकारको वार्षिक बजेट र पूर्वाधार मन्त्रालयको पुँजीगत खर्चले मात्रै मुलुकको आवश्यकता पूरा गर्न नसक्ने अर्थमन्त्रीको भनाइ छ। त्यसैले पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी परिचालन गर्नुपर्नेमा उनले जोड दिए।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई सहभागी गराउँदा विद्युत् उत्पादन उल्लेख्य रूपमा बढेको उदाहरण दिँदै वाग्लेले अब विद्युत् व्यापार र सडक पूर्वाधार निर्माणमा पनि निजी लगानी विस्तार गरिने बताए। यसका लागि ‘हाइब्रिड एन्युइटी मोडल’ र वैकल्पिक विकास वित्त कोष कार्यान्वयनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।
विश्व बैंक र एसियाली विकास बैंकजस्ता संस्थाबाट प्राप्त हुने सहुलियतपूर्ण ऋणको अवसर क्रमशः सीमित हुँदै गएको उल्लेख गर्दै उनले पूर्वाधार विकासका लागि नयाँ वित्तीय स्रोत खोज्नुपर्ने बताए। ग्रिन इनर्जी बन्ड, अफसोर बन्ड र अन्य वैकल्पिक वित्तीय उपकरणमार्फत पुँजी जुटाउनुपर्ने उनको धारणा छ। गैरआवासीय नेपालीलाई नेपालको पुँजी बजारमा लगानी गर्न सहज बनाउने कानुनी सुधारसमेत अघि बढाइएको उनले बताए।
वर्तमान सरकार पाँच वर्षे कार्यकाल पूरा गर्ने लक्ष्यसहित काम गरिरहेको दाबी गर्दै वाग्लेले राजनीतिक स्थिरता, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताए। विगतमा देखिएका भ्रष्टाचार र प्रशासनिक बेथिति हटाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गरिने उनको भनाइ छ।
सरकारले आगामी निर्वाचनमा आफ्नो कामको मूल्याङ्कन जनताबाट हुने विश्वाससमेत व्यक्त गरेको छ।
