आवासविहीन परिवारलाई सुरक्षित घर र सीपमूलक जीविकोपार्जनमा सहयोग गर्ने प्रदेश सरकारको प्रतिबद्धता
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर सुधारका लागि सुरक्षित आवास र आयआर्जनका कार्यक्रम अघि बढाउने बताएका छन्।
मकवानपुरको मनहरी गाउँपालिका–६, पोलाघारीस्थित चेपाङ बस्तीको स्थलगत निरीक्षणका क्रममा उनले आवासविहीन परिवारलाई घर निर्माण तथा जीविकोपार्जनका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।
सो अवसरमा नेकपा एमालेको मनहरी गाउँपालिका कमिटीको पहलमा निर्माण गरिएका तीनवटा घर आवासविहीन परिवारलाई हस्तान्तरण गरिएको थियो। मुख्यमन्त्री थापाले मानबहादुर प्रजा, रविलाल प्रजा र सूर्य प्रजाका परिवारलाई घरको साँचो हस्तान्तरण गरे।
प्रदेशभित्र अझै घरविहीन अवस्थामा रहेका विपन्न परिवारको पहिचान गरी सुरक्षित आवास निर्माणका लागि बजेट व्यवस्था गरिने उनले बताए। यसका लागि सम्बन्धित स्थानीय तहलाई वास्तविक लाभग्राहीको विवरण सङ्कलन गर्न र घर निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न पनि उनले आग्रह गरे।
‘कति परिवारलाई घर आवश्यक छ भन्ने यकिन विवरण तयार पार्नुहोस्। जग्गाको व्यवस्थापन स्थानीय तह र समुदायले गरे प्रदेश सरकारले बजेट उपलब्ध गराएर निर्माण प्रक्रिया अघि बढाउँछ,’ उनले भने।
चिसो मौसमलाई ध्यानमा राख्दै चेपाङ बस्तीका नागरिकलाई न्यानो कपडा उपलब्ध गराउने योजना रहेको पनि उनले जानकारी दिए। आफ्नो कार्यकालमा कोही पनि आवास र न्यानो कपडाको अभावमा कठिनाइ भोग्न नपरोस् भन्ने प्रदेश सरकारको लक्ष्य रहेको उनको भनाइ छ।
चेपाङ समुदायको आम्दानी बढाउन बाख्राका पाठापाठी र कुखुराका चल्ला वितरण गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने उनले बताए। अनुदानमा प्राप्त पशुपक्षीलाई उपभोग गरेर सक्नेभन्दा व्यावसायिक रूपमा पालन गरी नियमित आम्दानीको आधार बनाउन उनले समुदायलाई आग्रह गरे।
बाख्रापालनलाई दीर्घकालीन आम्दानीको स्रोत बनाउनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री थापाले उपलब्ध गराइने सहयोगको सही सदुपयोग गर्न स्थानीय बासिन्दालाई सुझाव दिए।
