बारामा कोइला बोकेको ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट, २० कात्तिक । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिकै कोइला बोकेको ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
बिहीबार साँझ ५ः३५ बजे हेटौँडा–पथलैया सडकखण्डमा वीरगञ्जबाट धादिङतर्फ जाँदै गरेको ना.६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौँडाबाट रौतहटतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए।
घाइते हुनेमा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका २१ वर्षीय नन्दकिशोर दास र पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका–३ का २१ वर्षीय निराजन यादव रहेका थिए।
दासको दुवै हात, दुवै खुट्टा र मुखमा चोट लागेको थियो भने यादवको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
दुवै जनालाई उपचारका लागि साँझ ६ः३० बजे मकवानपुरस्थित जिल्ला अस्पताल हेटौँडा पुर्याइएको थियो। उपचारका क्रममा साँझ ६ः३९ बजे चिकित्सकले ईसीजी परीक्षण गरेपछि यादवलाई मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक दासको जिल्ला अस्पताल हेटौँडामा उपचार भइरहेको छ।
दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट वरिष्ठ प्रहरी नायब निरीक्षक प्रकाशकुमार खत्रीको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।
ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ कमानेका ३० वर्षीय दीपक घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा अर्को टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
