काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको करिब ६ वर्षपछि नेकपा एमाले र नेकपाका स्थानीय कमिटी एउटै कार्यक्रममा सहभागी हुने भएका छन्। ललितपुरको गोदावरीबाट दुई दलबीच सहकार्यको नयाँ प्रयास सुरु भएको संकेत देखिएको छ।
गोदावरी नगरपालिका–३ स्थित एमाले र नेकपाका वडा कमिटीले तिहार, नेपाल संवत् र छठ पर्वको अवसर पारेर संयुक्त शुभकामना कार्यक्रम आयोजना गरेका हुन्। दुवै दलले एउटै ब्यानर र निमन्त्रणापत्रमार्फत कार्यक्रमको तयारी गरेका छन्।
निमन्त्रणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर राखिएको छ। दुवै दलका वडा कमिटीका अध्यक्षहरूले संयुक्त रूपमा नेताहरूलाई निमन्त्रणा पनि हस्तान्तरण गरेका छन्।
शनिबार बिहान गोदावरी पार्टी प्यालेस, टौखेलमा हुने कार्यक्रमको संयोजन एमालेका वडा कमिटी अध्यक्ष प्रल्हाद सिलवाल र नेकपाका भगतमान बम्जनले गरेका छन्।
एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार पार्टी विभाजनबाट कम्युनिस्ट आन्दोलनले ठूलो क्षति बेहोरेको अवस्थामा सहकार्यको वातावरण निर्माण गर्न कार्यक्रम आयोजना गरिएको हो।
आसन्न स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा कार्यगत एकता र चुनावी तालमेलका लागि तल्लो तहबाटै वातावरण बनाउनुपर्ने उद्देश्यसहित यस्तो पहल गरिएको उनले बताए। यसलाई वामपन्थी शक्तिहरूबीच पुनः सहकार्यको सम्भावना खोज्ने प्रारम्भिक प्रयासका रूपमा हेरिएको छ।
