सरकारको कार्यशैलीप्रति रविले सार्वजनिक असन्तुष्टि जनाउनु र प्रधानमन्त्री बालेन्द्रले सामाजिक सञ्जालमार्फत आफूहरूबीच विवाद रहेको संकेत गरेपछि बाबुराम चिन्तित देखिएका हुन्। उनले सत्ताधारी दलमा देखिएको यस्तो विवाद, किचलो देश र लोकतन्त्रका निम्ति शुभसंकेत नभएको पनि बताएका छन्।
‘नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रका निम्ति शुभसंकेत होइन,’ उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्।
बाबुरामले २००७ सालपछि कांग्रेसमा बीपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरिजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धि पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूहबीचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई नोक्सान भएको पनि उल्लेख गरेका छन्।
‘जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस्। बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्,’ उनले भनेका छन्।
