प्रविधि कम्पनीहरूको ठूलो हिस्सा रहेको अमेरिकी नास्डाक कम्पोजिट सूचकांक ५.५ प्रतिशतभन्दा बढीले घटेको छ। डाउ जोन्सको तथ्यांकअनुसार अमेरिकी सेयर बजारमा आएको गिरावटले कम्पनीहरूको कुल बजार मूल्यमा करिब २५ खर्ब डलर बराबरको क्षति पुर्याएको छ।
अमेरिकाका अन्य प्रमुख सेयर बजार सूचकांकमा समेत उल्लेख्य गिरावट देखिएको छ। सन् २०२५ यताकै कमजोर कारोबार दिनका रूपमा उक्त दिन दर्ज भएको छ।
एआई क्षेत्रमा कम्पनीहरूले अर्बौँ डलर लगानी गरिरहे पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त गर्न लामो समय लाग्न सक्ने चिन्ता लगानीकर्तामा पहिलेदेखि नै थियो। पछिल्लो समय डेटा सेन्टर तथा एआई पूर्वाधार विस्तारमा राजनीतिक र नीतिगत अवरोध आउन सक्ने सम्भावनाले उनीहरूको चिन्ता थप बढाएको छ।
एसियाली सेयर बजारमा पनि गिरावट
अमेरिकी बजारमा देखिएको नकारात्मक प्रभाव एसियाली सेयर बजारमा समेत फैलिएको छ। शुक्रबार बिहानको कारोबारमा जापानको निक्केई २२५ सूचकांक सुरुवाती चरणमै ५ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
जापानी प्रविधि कम्पनी पानासोनिकको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको छ भने हिटाचीको मूल्यमा करिब ८ प्रतिशतको गिरावट आएको छ।
दक्षिण कोरियाको सेयर बजार पनि प्रभावित भएको छ। त्यहाँको प्रमुख सूचकांक कोस्पी ८.५ प्रतिशतभन्दा बढीले घटेको छ। चिप निर्माता कम्पनी एसके हाइनिक्सको सेयर मूल्य ११.५ प्रतिशतभन्दा बढीले खस्किएको छ भने सामसङको सेयरमा पनि करिब १० प्रतिशतको गिरावट आएको छ।
डेटा सेन्टर विस्तार नियन्त्रण चुनावी एजेन्डा
अमेरिकाका विभिन्न निर्वाचन क्षेत्रमा डेमोक्रेटिक उम्मेदवारहरूले डेटा सेन्टर तथा एआई पूर्वाधारको तीव्र र अनियन्त्रित विस्तारलाई नियमन गर्ने विषयलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए।
देशका विभिन्न क्षेत्रमा मतदानका क्रममा डेटा सेन्टर निर्माण तथा विस्तारलाई नियन्त्रण गर्ने उद्देश्यका दर्जनौँ प्रस्तावसमेत अघि सारिएका थिए। ती प्रस्तावमा ठूला डेटा सेन्टर निर्माणमा प्रतिबन्ध लगाउने वा कडा नियमन लागू गर्ने विषय समेटिएको थियो।
एआई प्रविधि सञ्चालन र विकासका लागि विशाल डेटा सेन्टर आवश्यक पर्ने भएकाले यस्ता पूर्वाधार निर्माणमा अवरोध आएमा प्रविधि कम्पनीहरूको विस्तार योजना र लगानीको प्रतिफल प्रभावित हुन सक्ने चिन्ता लगानीकर्तामा देखिएको छ।
ट्रम्पले डेमोक्रेटिक पार्टीलाई ठहर्याए जिम्मेवार
सेयर बजारमा ठूलो गिरावट आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टी र त्यसका उम्मेदवारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले बजारमा आएको गिरावटको जिम्मेवारी डेमोक्रेटिक उम्मेदवारहरूको चुनावी सफलतालाई दिएका छन्।
उनले डेमोक्रेटिक पार्टीलाई व्यंग्यात्मक रूपमा ‘डुमोक्रेट्स’ भन्दै मंगलबार उनीहरूले हासिल गरेको चुनावी जितकै कारण सेयर बजारमा गिरावट आएको टिप्पणी गरेका छन्। साथै, यस अवस्थाका लागि मतदाताले आफैँलाई जिम्मेवार ठहर्याउनुपर्ने उनको भनाइ छ।
ट्रम्पको अभिव्यक्तिपछि सेयर बजारमा आएको गिरावटलाई लिएर अमेरिकी राजनीतिक वृत्तमा समेत आरोप–प्रत्यारोप सुरु भएको छ।
