काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा वैदेशिक अनुदान अपेक्षाभन्दा निकै कम प्राप्त हुने अवस्था रहेको बताएका छन्। उनका अनुसार यस वर्ष ७ देखि ८ अर्ब रुपैयाँ अनुदान जुटाउनसमेत कठिन देखिएको छ।
रसुवा बाढीबाट भएको क्षति तथा उद्धार र राहतका विषयमा गठित संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले वैदेशिक अनुदान घट्दै गएको जानकारी दिएका हुन्।
वाग्लेले सरकारले एक दिनमा संकलन गर्ने राजस्वभन्दा पनि विदेशी दातृ निकायले वर्षभरिमा उपलब्ध गराउने अनुदानको रकम कम हुन थालेको उल्लेख गरे। यस्तो अवस्थामा विकास तथा पुनर्निर्माणका लागि सहुलियतपूर्ण ऋण लिनुको विकल्प सीमित हुँदै गएको उनको भनाइ छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरेको थियो। तर अर्थमन्त्री वाग्लेले बजेट सार्वजनिक भएको पाँच महिनापछि उक्त लक्ष्यको करिब १० प्रतिशत मात्रै अनुदान प्राप्त हुन सक्ने प्रक्षेपण गरेका छन्।
उनको यो अभिव्यक्तिले चालु आर्थिक वर्षमा सरकारले अपेक्षा गरेअनुसार वैदेशिक सहायता प्राप्त नहुने र बजेट व्यवस्थापनमा थप चुनौती आउन सक्ने संकेत गरेको छ।
