काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको नेतृत्व क्षमता विकास गर्न तल्लो तहदेखि नै जिम्मेवारी र अवसर प्रदान गर्नुपर्ने बताएका छन्।
निर्वाचन क्षेत्रको भ्रमणका क्रममा इच्छाकामनाका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटमा उनले नेतृत्व निर्माणको प्रक्रिया वडा तहबाटै सुरु हुनुपर्ने धारणा राखे। वडा, पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्व तयार गर्नुपर्ने उनको भनाइ थियो।
पार्टीको सदस्य वा समर्थक भएकै आधारमा कसैले पनि गलत गतिविधि गर्न छुट नपाउने लामिछानेले स्पष्ट पारे। रास्वपा विधि र प्रक्रियामा विश्वास गर्ने पार्टी भएकाले आफ्ना नेता तथा कार्यकर्ता पनि नियमको दायरामा रहनुपर्ने उनले बताए।
‘हाम्रो पार्टीका समर्थकले जे गरे पनि छुट पाउँछन् भन्ने सोच गलत हो। पार्टी विधिमा चल्छ भने त्यसको पालना सबैले गर्नुपर्छ। राज्यका निकाय र संस्थाहरू पनि विधिअनुसार सञ्चालन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने।
लामो समयदेखि निर्वाचन क्षेत्रमा आउन नपाए पनि आफू स्थानीय नेता तथा कार्यकर्ताको सम्पर्कबाट टाढा नरहेको उनले बताए। पार्टीको ठूलो संगठन, सांसद तथा विभिन्न संरचनाको व्यवस्थापनसँगै सरकारसँग आवश्यक समन्वय गर्नुपर्ने जिम्मेवारी आफूमा रहेको उनको भनाइ थियो।
चितवनमा पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न भएको उल्लेख गर्दै उनले अब संगठन विस्तार र संस्थागत संरचना निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।
स्थानीय विकास निर्माणका कामलाई प्रभावकारी बनाउन पार्टीको संरचना सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले हरेक विषयमा नागरिकले सांसदकै मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे।
उनले स्थानीय तहमा सम्भावना बोकेका व्यक्तिहरूको पहिचान गरी अहिलेबाटै नेतृत्वका लागि तयार गर्न कार्यकर्तालाई आग्रह गरे। आगामी दिनमा वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहसम्म जिम्मेवारी सम्हाल्न सक्ने जनशक्ति निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
