सम्बन्धित पक्षले आयोजनालाई शीघ्र लागत अनुमान तयार गरी आवश्यक बजेटको व्यवस्था गर्न र निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
आयोजना प्रमुख प्रेमहरि पराजुलीले मनसुनजन्य विपद्बाट भएको क्षतिको प्रारम्भिक विवरण यसअघि नै जलस्रोत तथा सिँचाइ विभागमा पठाइसकेको जानकारी दिए। पछिल्लो समय थप क्षति देखिएकाले विवरण अद्यावधिक गरी आवश्यक बजेट मागका लागि विभागमा पठाउने तयारी भइरहेको उनले बताए।
कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेका बेनी बजारसहित आसपासका बस्तीको संरक्षणलाई प्राथमिकतामा राखेर काम अघि बढाइने पराजुलीको भनाइ छ।
‘आगामी वर्षायाम सुरु हुनुअघि नै नदी नियन्त्रणसम्बन्धी योजना सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक काम अघि बढाउँछौँ,’ उनले भने।
यसअघि पनि उक्त क्षेत्रमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिएको थियो। त्यस्तै, सघन सहरी विकास आयोजनामार्फत रिङरोडसमेत निर्माण गरिएको थियो।
बाढीका कारण ती संरचनामा क्षति पुगेपछि बेनी बजार तथा आसपासका बस्तीलाई नदी कटानबाट जोगाउन पुनर्निर्माणको तयारी गरिएको हो।
