काठमाडौं । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको गाडीले सिंहदरबार परिसरभित्र आफूलाई ठक्कर दिएको आरोप लगाएकी छन्।
गैरेका अनुसार शुक्रबार पूर्वाधार मन्त्रालयअगाडि जेब्रा क्रसिङबाट सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको गाडीले उनलाई ठक्कर दिएको थियो। ठक्करपछि आफू सडकमा लडेको उनले बताएकी छन्।
नेपाल प्रेससँगको कुराकानीमा गैरेले बाटो काट्नुअघि हातले संकेत गर्दासमेत गाडी नरोकिएको बताइन्। घटनामा बाहिर देखिने चोट नलागे पनि शरीरका विभिन्न भागमा दुखाइ भइरहेको उनको भनाइ छ।
उनले घटनाबारे राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई समेत जानकारी गराइसकेकी छन्। साथै, ठक्कर दिने गाडी मन्त्रीका यातायात विज्ञ सल्लाहकार निधिको रहेको दाबी गर्दै घटनाबारे जानकारी गराउँदा पनि उनी सम्पर्कमा नआएको गैरेले बताएकी छन्।
यस विषयमा निधिको प्रतिक्रिया प्राप्त नभएको जनाइएको छ।
निधि काठमाडौं महानगरपालिकाको मेयर रहेका बेला बालेन्द्र शाह र सुनिल लम्सालको समूहसँग आबद्ध इन्जिनियरका रूपमा काम गरेका व्यक्ति हुन्।
