काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावादको नाममा समाजमा अराजकता र विभाजन निम्त्याउने गतिविधि बढिरहेको बताएका छन्।
लमजुङ भ्रमणका क्रममा उनले सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले नेपाली मौलिक संस्कृति, भाषा, परम्परा र रीतिरिवाजमा नकारात्मक असर पारिरहेको धारणा राखे।
सामाजिक सञ्जालबाट आम्दानी गर्ने नाममा नेपाली महिलालाई प्रदर्शनको माध्यम बनाउने प्रवृत्तिले मौलिक संस्कृति र सामाजिक पहिचान कमजोर बनाएको उनको आरोप छ। सूचना प्रविधि र सामाजिक सञ्जाललाई भने नेपाली भाषा, संस्कृति, सामाजिक सद्भाव र राष्ट्रिय सामर्थ्य प्रवर्द्धन गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए।
पश्चिमी संस्कृतिको अन्धानुकरण तथा सामाजिक सञ्जालमा देखिने प्रवृत्तिको नक्कल गर्ने प्रतिस्पर्धाबाट समाज जोगिनुपर्ने पोखरेलको भनाइ थियो।
उनले नयाँ र पुरानो पुस्ताबीच दूरी बढाउने खालका भाष्य निर्माण भइरहेको पनि बताए। नयाँ पुस्ताले मात्रै सबै कुरा बुझेको र अभिभावक, शिक्षक तथा समाजका अगुवाले युवापुस्ताको चाहना र आवश्यकता बुझ्न नसकेको सन्देश प्रवाह गरेर पुस्तागत विभाजन बढाउन खोजिएको उनको दाबी छ।
पोखरेलले नागरिकका असन्तुष्टि सम्बोधन गर्न र उनीहरूका अपेक्षा पूरा गर्न एमाले सक्षम रहेको दाबी गरे। पार्टीले आगामी दिनमा सामाजिक तथा आर्थिक विकासलाई प्राथमिकतामा राख्ने उनको भनाइ थियो।
‘हिजो हामीले पूर्वाधार विकासमा जोड दियौँ, अब सामाजिक विकास र अर्थतन्त्रको विकासलाई प्राथमिकता दिन चाहन्छौँ,’ उनले भने।
लोकप्रियतावाद, अराजकतावाद र अवसरवादका माध्यमबाट समाजलाई विभाजित र कमजोर बनाउने प्रवृत्तिप्रति सचेत रहन पनि उनले आग्रह गरे।
